काठमाडौँ। जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।
खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ ।
अल्का अस्पतालका मुटुरोग विशेषज्ञ डा.शिवजीविक्रम सिलवालले ६० प्रतिशत मुटुको चाल भन्दा कम गतिमा मुटुको धड्कन भइरहेको छ भने त्यसलाई मुटुरोगको समस्या भन्ने बुझेर अस्पताल जानुपर्ने बताए । उनले पछिल्लो समय २०/२२ वर्षमै हृदयघातको समस्या बढ्नुले चिन्ता थपिएको बताउदै खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको बताए ।
प्रश्तुत छः अल्का अस्पतालका मुटुरोग विशेषज्ञ एवं कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. शिवजीविक्रम सिलवालसँग गरेको कुराकानीनको सम्पादित अंश ।
प्रश्नः मुटु रोग भनेको के हो, यसभित्र के–के पर्दछन्, कस्तो अवस्थालाई मुटु रोग भनेर बुझ्ने गरिन्छ ?
जवाफः मुटु अस्वस्थ हुनुलाई मुटु रोग भनिन्छ । सामान्यतः मुटुको चाल ६० प्रतिशत हुन्छ । त्यसभन्दा कम गतिमा मुटुको धड्कन भइरहेको छ भने त्यसलाई मुटुको समस्या भन्ने गरिन्छ । अर्को भल्बको समस्या हुन्छ । त्यसैगरी कोरोनरी आर्की रोगहरू भन्ने हुन्छ । जब नशा ब्लकेज हुन्छ त्यसलाई चाहीँ हृदयघात भनिन्छ । र कसैको जनमजात रुपमा मुटुमा प्वाल हुन्छ । मुटुसम्बन्धी सम्पूर्ण समस्याहरुलाई नै मुटु रोग भनिन्छ ।
प्रश्नः मुटुसम्बन्धी अन्य रोगहरु त छँदैछन्, पछिल्लो समय हृदयघातका बिरामीहरु बढ्दै गएको देखिन्छ, युवा अवस्थामै पनि हृदयघात हुने समस्याहरु देखिएका छन् नि ?
जवाफः सही भन्नुयो । पहिले हामीले कितावमा पढेअनुसार हृदयघात ३० वर्षभन्दा तल हुँदैन भन्ने थियो । र मैले देखेको पनि थिइन । तर पछिल्लो समय सन् २०१० देखि अहिलेसम्म आउँदाखेरि अहिले उमेरले केही पनि फरक पारेको देखिँदैन । अहिले २०/२२ वर्षमै हार्टअट्याक भएको छ । महिलाहरुमा चाहीँ महिलाहरुमा महिनावारी नरोकिउन्जेलसम्म हृदयघात हँदैन भनिन्थ्यो । तर अहिले त्यसमा पनि हृदयघात देखिएको छ । त्यसैले अहिले जुन उमेरका मान्छेलाई पनि हृदयघात हुनसक्छ । यसमा खानपान र स्टे«सले प्रभाव पारेको देखिन्छ ।
प्रश्नः खानपान र हृदयघातबीचको सम्बन्ध चाहीँ कस्तो हुन्छ ?
जवाफः हृदयघात हुने मुख्य कारण धुम्रपान सेवन हो । अर्को, कोलेस्ट्रोलमा लेभल नहुने हो । तेस्रो, सुगर, प्रेसर र बुबा आमा तथा परिवारको सदस्यहरुलाई हृदयघात भएको छ भने छोराछोरीलाई हुने सम्भावना चाहीँ बढी हुन्छ । त्यसकारण हामीले यी कुराहरुमा ध्यान दिनुपर्छ । धुम्रपान सेवन गर्छौं भने त्यो नगर्ने । प्रेसर छ भने प्रेसरलाई नियन्त्रण गर्ने, नियमित रुपमा औषधि सेवन गर्ने, शारीरिक अभ्यास गर्ने, सुगर नियन्त्रण गर्ने गर्नुपर्दछ । परिवारका अन्य सदस्य तथा आमाबुबालाई भएको हृदयघात त हामीले रोक्न सक्दैनौं । जिनमा आइसकेको हुनाले समय समयमा शारीरिक परीक्षण गर्ने गर्नुपर्दछ ।
प्रश्नः सामान्यतया मुटुमा कस्तो लक्षण देखिएको अवस्थामा उसलाई मुटुसम्बन्धी रोगहरु छ भनेर बुझ्ने ?
जवाफः हिजो सकुसल देखेको मान्छे आज हृदयघातबाट निधन भएको समाचारहरु सुनिन्छन् । वयस्क उमेर भइसकेपछि वर्षको तीन पटक लिपिड प्रोफाइल, इको कार्डियोग्राफी, टिएमटी र अन्य जाँचहरु गर्ने गर्नुपर्दछ । कस्तो लक्षण देखियो भने अस्पताल जाने भन्ने सन्दर्भमा शरीरमा कमजोरी महशुस भएपछि जानुपर्दछ । अब हृदयघातको कस्तो लक्षण हुन्छ भन्दाखेरी छाती दुख्ने, देब्रे छाती दुख्ने, छाती भारी हुने, दुखाई सरेर चिउँडोतिर र कुइनातिर जाने र अत्याधिक पसिना आउने र छातीको दुखाई खपि नसक्नु हुने लक्षण आयो भने अस्पताल जाने । अर्को, पेट दुख्ने समस्या पनि हुन्छ । ग्यास्ट्रिक भनेर हेलचेक्राँई गर्नु भएन । हामीले सामान्य जाँच गर्दा पनि हृदयघात हो कि ? होइन भनेर थाहा पाउन सक्छौं । अन्य कुराहरु त चिकित्सकहरुले गरिहाल्नु हुन्छ ।
प्रश्नः मौसम परिवर्तनसँगै चिसो बढेपछि मुुटुको संक्रमण बढ्ने हो ?
जवाफः जाडो महिनामा हाम्रो शरीरबाट पसिना बग्दैन । गम्भिर महिनामा हामीले गर्ने विभिन्न क्रियाकलापले गर्दा पसिना बग्ने हुन्छ । जाडो महिनामा अलिकति अल्छिपना पनि बढ्छ । त्यसकारण गर्मीको तुलनामा जाडोमा प्रेसर अलिकति बढ्छ । जाडो महिनामा हामीले खाने खानेकुराहरु पनि अलिकति बढी खाइन्छ । शारीरिक अभ्यास कम हुन्छ । यस्तो अवस्थामा गर्मी महिनाको तुलनामा चिसो महिनामा मुटुसम्बन्धी रोग रोगहरु बढी लाग्ने सम्भावना बढी हुन्छ ।
प्रश्नः मुटु रोगको बढी जोखिममा कुन उमेर समूह रहन्छ ?
जवाफः उमेर भन्दापनि प्रेसर र सुगरका बिरामी तथा धुम्रपान सेवन गर्ने मान्छेहरुलाइ मुटु रोग बढी हुने सम्भावना रहन्छ । अर्को स्टे«स भएका मान्छेलाई मुटु रोग बढी लाग्ने हो ।
प्रश्नः धुम्रपान तथा मद्यपान सेवन नगर्ने मान्छेलाई पनि मुटु रोग लागिरहेको भन्ने सुनिन्छ, तर नियमित धुम्रपान सेवन गर्ने मान्छेलाई मुटु रोग नलागेको पनि देखिन्छ, यसले केही विरोधाभास भएको देखिन्छ नि ?
जवाफः हाम्रो समुदाय धेरै फरक छ । सबैको खानपान एउटै त छैन नि । कतिले खानपानमा माछामासु खाने गर्नुहुन्छ कति जना भेजेटेरियन हुनुहुन्छ । बाहिरबाट हेरेर सबै कुरा त थाहा हुदैन नि । त्यसको लागि त स्वास्थ्य परीक्षण गर्नुपर्यो नि । बाहिरबाट हेरेर प्रेसरको पनि लक्षण देखिँदैन । कसैको मुटु सुन्निन थालेको हुन्छ । त्यसकारण हामीले बाहिरबाट हेरेर होइन कि जाँच गरेर हेर्नुपर्दछ । जहाँसम्म तपाईले कतिपय मान्छेलाई धुम्रपान तथा मद्यपान सेवन गर्दा पनि हृदयघात नभएको तर त्यसो नगर्ने मान्छेलाई भएको भनेर भन्नुभयो । त्यसमा मान्छेको शरीरिमा संरचनामा समेत भर पर्दछ । स्वास्थ्य परीक्षण दुवै प्रकारका मान्छेका लागि उत्तिकै महत्व छ ।
प्रश्नः मुटुको सुरक्षा कसरी गर्ने ?
जवाफः मुटुलाई माया गर्नको लागि जिब्रो र मुखलाई माया नगर्ने । नुनिलो कम खाने, चिल्लो कम गर्ने लगायत कामहरु गर्नुपर्छ । मुटुलाई माया गर्नको लागि तपाई कतै घुम्न जानुभएको छ भने त्यहाँ एकै दिन सबै प्रकारका खानेकुराहर नखाने । एकैदिन रातो मासु र माछा खानु हुँदैन । मुटुलाई माया गर्नको लागि फलफूल र हरियो सागपात बढी खाने । कसैलाई भेट्न जाँदा फ्रेस जुसहरु लग्ने गर्नुपर्दछ । यस्तो गर्नसक्यो भने मुटुलाई माया गर्न सकिन्छ ।
प्रश्नः मानिसले दैनिक जीवनमा शारीरिक व्यायाम कम गर्यो भने मुटुको रोग बढ्ने हो ?
हो नि । मानव जीवन भनेको त जंगलमा शिकार गरेर, दौडेर खाने थियो नि । अहिले यो सबै परिवर्तन भएर मानवीय जीवन एकदमै व्यस्त हुँदै गइरहेको छ । हरेक क्षेत्रका मानिसहरु काममा व्यस्त हुन्छन् । बिहान ८ बजे कार्यालय पुग्नुपर्ने भएका कारणले घरमा खाना पकाउन भ्याइँदैन । रेस्टुरेन्टको खाना खाने चलन बढ्दै गएको छ । त्यहाँ कुन तेलको प्रयोग गरिन्छ । त्यहाँ कति मात्रामा नुन हाल्छ । बासी पो हो कि त्यो हामीलाई थाहा हुँदैन । यस्तो बिजि सेड्युल र खानपानले पनि मुटु रोगको जोखिम बढाउँदै गएको छ । हामीले आफ्नै घरमा पकाएको खाना खायौं भने त सबै थाहा हुन्छ नि । त्यसकारण स्वस्थ खाना खानुपर्ने आवश्यकता देखिन्छ । पोलेको मासु भनेको कार्बन हो । त्यो त त्यत्तिकै खतरनाक भइहाल्यो । सकेसम्म नखाने । तपाई पूर्ण रुपमा स्वस्थ हुुनुहुन्छ भने तपाईले खान सक्नुहुन्छ । तर रातो मासु खाँदाखेरि नियमित रुपमा नखाने, खाइहाल्यो भने बिहानको समयमा खाने अन्य समयमा अत्याधिक प्रयोग नगर्ने ।
प्रश्नः उपचारका लागि तपाईसँग आउने मुटुसम्बन्धी बिरामीहरु कस्तो अवस्था हुन्छन्, कस्ता कस्ता बिरामीहरु आउने गर्नुहुन्छ ?
कतिपय बिरामीहरु हामीकहाँ छाती दुख्यो भनेर आउनुहुन्छ । हामी यो त हृदयघात हो भनेर भन्दा उहाँहरुलाई पत्यार नै लाग्दैन । उहाँहरु ग्यास्ट्रिकले होला भन्नुहुन्छ । त्यहाँ चिकित्सले भनेको कुरा सुन्नुपर्यो । त्यही अनुसारले जानुपर्यो । कोही चाहीँ सुगर र प्रेसर नहेरिकन औषधि लिइरहनुभएको हुन्छ । त्यस्ता बिरामीहरु आपत्कालीन अवस्थामा आउँदाखेरि कहिले काँही हामीले केही गर्न नसक्ने स्थिति पनि धेरै आएको छ ।
प्रश्नः मुटु रोगको घरेलु उपचार अथवा मुटुको स्याहार गर्ने तरिकाहरु बताइदिनुस् न ?
जवाफः तपाई स्वस्थ हुनुहुन्छ भने घरमा बसेर मुटुको केयर गर्नको लागि स्वस्थ खानेकुरा खाने, शारीरिक अभ्यास गर्ने र नियमित रुपमा अभ्यास गरेर पसिना बगाउने, तनाव नलिने, ६ देखि ८ घण्टासम्म सुत्ने, निन्द्रालाई माया गरेर सुत्ने गर्नुपर्दछ । यदी शंका लाग्यो भने तुरुन्त अस्पताल जाने त्यसको घरमा उपचार गर्न सकिँदैन ।
प्रश्नः अन्तिममा मुटुसम्बन्धी बिरामीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
बिरामीसँगसँगै स्वस्थ मान्छेहरुलाई के भन्न चाहन्छु भने नियमित शारीरिक अभ्यास गर्नुस् । त्यो पनि दिनदिनै चार, पाँच घण्टा गर्नुपर्दैन । यदि सुगर र प्रेसर छैन भने हप्ताको तीन घण्टा शारीरिक अभ्यास गर्नुस् । सुगर छ भने हप्ताको पाँच घण्टाजति शारीरिक अभ्यास गर्नुस् । आफूले घरमा खाने खानेकुराहरु खानुस् । चिल्लो कम खानुस् । चिज, बटर, घ्यु अत्याधिक प्रयोग नगर्नुस् । खानामा साधारण कुराहरु खाने । यदी हृदयघात भएको छ भने चिकित्सकको सल्लाहअनुसार नियमित रुपमा औषधि सेवन गर्ने र नियमित रुपमा औषधि सेवन गर्नसक्यो भने मुुटु पुरानै अवस्थामा फर्किने भएकाले भ्रममा नपरिकन बस्न आग्रह गर्न चाहन्छु ।
प्रश्नः अहिले मुटु रोगसम्बन्धी जशक्तिको अवस्था कस्तो छ, मुटु रोगसम्बन्धी उपचारका लागि सरकारले गरेका प्रयासहरु पर्याप्त छन् कि छैनन् ?
जवाफः अहिले इन्स्युरेन्स पोलिसी आएको छ । यो एकदमै राम्रो कुरा हो । जनशक्तिको कुरा गर्दा १० वर्ष पहिलेको तुलनामा अहिले धेरै नै राम्रो भएको छ । अहिले मानिसहरु समेत सचेत भएको अवस्था छ । सरकारले नै स्वास्थ्य क्लिनिक तथा स्वास्थ्य संस्थाहरुको स्थापना गरेको छ । तर सरकारले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा समेत सेवा सुविधा र अवसरहरु सिर्जना गर्नुप¥यो भन्ने धारणा राख्छु । अहिले ओपन हार्ट सर्जरी लगायत सबै उपचारहरु निजी अस्पतालहरुमा पनि हुने गर्दछ । यसमा सरकारले हेर्नुपर्यो । सरकारले निजी अस्पतालको लागि एउटा र सरकारी अस्पतालकको लागि अर्कै मापदण्ड बनाउने होइन । सरकार भनेको अभिभावक हो अभिभावकले सबै छोराछोरीहरुलाई समान व्यवहार गर्नुप¥यो । यस्तो भेदभाव त गर्नु भएन ।
प्रकाशित मिति: ५ माघ २०८१, शनिबार