Trending
>>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै


१७ चैत्र, चितवन। छ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ । उनले भनिन्, “यो पाँच वर्षको अवधिमा हामीले छ पर्यटन मन्त्रीसँग नियमित छलफल गर्र्यौं । महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास र कार्यालयमा धेरै पटक छलफल भएको छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको पहलले सार्थकता पाएको हो । पर्यटनमन्त्री अधिकारी हुँदा तत्कालिन समयमा चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका प्रधानमन्त्री दाहालसहित जिल्लाका सरोकारवालाको उपस्थितिमा बृहत् छलफल गरेर अभियानको थालनी गरिएको थियो । प्रमुख दाहालले भनिन , “झण्डै पाँच वर्ष फाइल बोकेर भरतपुर र काठमाडौँ ओहोर दोहोर गरे ।”

विमानस्थलको धावनमार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थान र नेपाली सेनाको कालीबहादुर गणलाई दियालो बङ्गला सारिने भएको छ । ब्यारेक सार्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको बताउनुभयो । बाँकी निर्णय दुई साताभित्रमा गरेर काम अघि बढ्ने छ ।

केही दिनअघि विस्तारका लागि प्रधानमन्त्रीको निवास बालुवाटार र कार्यालय सिंहदरबारमा नेपाली सेनासहितको सरोकारवाला बसेर टुङ्गोमा पुगेको दाहालले जानकारी दिईन । यो विमानस्थलबाट मकवानपुरदेखि दाउन्नेसम्मका बासिन्दाले हवाई सेवा लिँदै आएका छन् । त्यस्तै तनहुँ र गोरखा आसपासका बासिन्दाले पनि यो विमानस्थलबाट सेवा लिँदै आएका छन् । विसं २०१५ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा २०१८ मङ्सिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो । तत्कालीन समयमा टुइनेटरजस्ता १८ सिटे जहाजमात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्षमा एटिआर ४२, जेटस्टिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजको उडान हुँदै आएको छ ।

एक हजार दुई सय मिटरमात्र धावनमार्ग भएको तथा उडान र अवतरण क्षेत्रमा भौतिक संरचनाका कारण यो विमानस्थल जोखिमपूर्ण मानिएको छ । धावनमार्गलाई एक हजार पाँच सय मिटर लामो बनाएर एटिआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्ने गरी विस्तार गर्न लागिएको हो । यससँगै आधुनिक ट्रमिनल भवन बनाइँदै छ । रु एक अर्ब ९२ करोडको लागतमा निर्माण गर्न लागिएको अत्याधुनिक ट्रमिनल भवनको बिहीबार प्रधानमन्त्री दाहालले शिलान्यास गर्नुभएको छ । छोटो धावनमार्ग, उडान र अवतरण क्षेत्र अतिक्रमण तथा उच्च जोखिमसँगै महँगो हवाई भाडा तिर्न यहाँका बासिन्दा बाध्य छन् । हाल यहाँबाट काठमाडौँ र पोखरा बुद्ध एयरले उडान भर्दै आएको छ । दैनिक आठ उडान हुँदै आएको छ । कोभिड–१९ अघिसम्म यो सङ्ख्या १२ रहेको विमानस्थलले जनाएको छ । दैनिक सात सयभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन् ।

सन् १९५८ मा निर्माण कार्य सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको तथ्याङ्क छ । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको सो विमानस्थलको सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्र सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले बताए ।

देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । विमानस्थल ५८ बिघामा फैलिएको छ । सन् १९५८ मा संयुक्त राज्य अमेरिकाको सहयोगमा मलेरिया नियन्त्रण कार्यक्रमअन्तर्गत यो विमानस्थल निर्माण गरिएको हो । अहिले विमानस्थल १० घण्टाको हाराहारीमा मात्र सञ्चालन हुँदै आएको छ । विस्तारसँगै रात्रिकालीन उडानसमेत गरिने छ ।

भरतपुर विमानस्थलको समयसापेक्ष विकास र विस्तारमा ढिलाइ भएको अधिकारीले बताए। विमानस्थलको आवश्यकता, औचित्य र महत्वबारे आफैँले बुझेर हृदयङ्गम गर्ने नेतृत्वको अभाव हुँदा विस्तार र विकास हुन नसकेको उनको भनाइ छ । विमानस्थल विस्तारका लागि १९ बिघा नेपाली सेनाको लिनुपर्ने हुन्छ । यस क्षेत्रमा बाँकी रहेको जमिनमा नेपाली सेनाको हेङ्गर र उद्यान बनाइने बताइएको छ ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?