Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एसइई परीक्षा देशभर एकसाथ सुरु


१७ चैत ,भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ ।

पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी रहेको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

उनले भने, “यस वर्षको एसइईमा सहभागी हुनका लागि २०७८ सालमा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ रहेका थिए । कक्षा १० मा आइपुग्दा परीक्षामा सहभागी हुन आवेदन दिने विद्यार्थी चार लाख ८४ हजार दुई सय २७ जना रहे । कक्षा नौबाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।”

नेपालबाट रोजगारीका लागि जापान पुगेका नेपाली नागरिकका १४ छोराछोरीले जापानबाटै परीक्षा दिँदै छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एउटा शैक्षिक संस्थाबाट उनीहरु एसइई परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् ।

परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् ।

एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षालाई शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न गराउन परीक्षा बोर्डले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेशभित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने छन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले व्यवस्थापन तथा अनुगमन गर्नेछन् ।

देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन गरिएको नियन्त्रक श्रेष्ठले जानकारी दिए । चैत २९ गतेसम्म परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?