Trending
>>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०७ गते बुधबार >>   गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो ) >>   विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने >>   कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी >>   सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने >>   संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल >>   नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द >>   अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने >>   प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

एसइई परीक्षा देशभर एकसाथ सुरु


१७ चैत ,भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ ।

पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी रहेको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

उनले भने, “यस वर्षको एसइईमा सहभागी हुनका लागि २०७८ सालमा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ रहेका थिए । कक्षा १० मा आइपुग्दा परीक्षामा सहभागी हुन आवेदन दिने विद्यार्थी चार लाख ८४ हजार दुई सय २७ जना रहे । कक्षा नौबाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।”

नेपालबाट रोजगारीका लागि जापान पुगेका नेपाली नागरिकका १४ छोराछोरीले जापानबाटै परीक्षा दिँदै छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एउटा शैक्षिक संस्थाबाट उनीहरु एसइई परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् ।

परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् ।

एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षालाई शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न गराउन परीक्षा बोर्डले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेशभित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने छन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले व्यवस्थापन तथा अनुगमन गर्नेछन् ।

देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन गरिएको नियन्त्रक श्रेष्ठले जानकारी दिए । चैत २९ गतेसम्म परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?