Trending
>>   पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छः अध्यक्ष श्रेष्ठ >>   जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छुः उर्जामन्त्री >>   खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु >>   विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो >>   राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री >>   राप्तीमा ४१ गोही छोडियो >>   मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन >>   पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह >>   नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा >>   बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

वायुसेवा निगम सुधारका लागि तत्काल नयाँ कदम चाल्न सरकारलाई सांसदहरुको सुझाव


काठमाडौँ । नेपाल वायुसेवा निगमलाई व्यवस्थित र बलियो बनाउनको लागि सरकारले तत्काल नयाँ कदम चाल्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो सुझाव दिएका हुन् । सांसदहरुले निगममा सधै पुरानै समस्याहरु देखाएर सुधारबाट पछाडि हट्न नहुने बताए । उनीहरुले सरकारले निगमलाई सुधार गरी बलियो बनाउनको लागि निगमको सम्पूर्ण व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने बेला भएको बताएका छन् ।

सांसदहरुले निगम सञ्चालन भएको लामो इतिहास हेर्दा पनि मुनाफामा गएको नदेखिएको धारणा राखे । सरकारले अहिलेकै प्रणालीमा केही वर्ष चल्ने की थप निगमलाई बिग्रन दिने विषयमा तत्काल कदम चल्न जरुरी रहेको सांसदहरुको सुझाव छ ।

नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले वायुसेवा निगम सुधारको लागि सरकारले ठोस निर्णय गर्न आवश्यक रहेको बताएका छन् । उनले तत्काल ठोस निर्णय नगरे निगमको आम्दानीमा समेत झन बिग्रदै जाने अवस्था देखिएको बताएका छन् ।

सांसद जबराले निगम अहिलेकै अवस्थामा चल्न दिने हो भने भविष्यमा निगमका सबै जहाज ग्राउण्डेट हुने अवस्था देखिएको जिकिर गरेका छन् । उनले निगम सुधारको लागि सरकारसँग लामो समय नभएको बताए । उनले सरकार निगममा साना–साना काम नभएको भन्दै ३० औं वर्ष अड्किएकाले सम्पूर्ण व्यवस्थापन प्रणालीमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले व्यवस्थापकीय क्षमता कमजोर भएकाले निगमको अवस्था दयनीय भएको बताए । उनले नेपाल वायुसेवा निगमको वर्तमान व्यस्थापनको व्यवस्थापकीय क्षमता कमजोर देखिएको बताए । उनले नेपाल वायुसेवा निमगको सुधार गर्न ढिला भएकाले सरकारले तत्काल ठोस निर्णय गर्न आवश्यक रहेको बताएका छन् ।

उनले निगम सञ्चालनमा कम्पनी मोडलमा जाने लगायतका विषयहरु उठान भएकाले तत्काल कम्पनीमा जान नहुने बताए । उनले निगमलाई कम्पनीमा लैजान खोज्नु गलत भएको बताए । निगमलाई निजीकरण पनि गर्न नहुने विगतका सरकारी उद्योगहरु निजीकरण भएको उदाहरण देखिएको बताए । उनले सरकारले व्यवस्थापन गर्न ढिला गर्न नहुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले वर्तमान सरकारले वायुसेवा निगम सुधारको लागि कठोर निर्णय गर्न सक्नुपर्ने बताए । उनले वायुसेवा निगम रुपान्तरणको बोटो जानुपर्ने बताए । उनले निगममा १८ सय बढी कर्मचारी आवश्यक नभएको बताए । उनले मन्त्रीहरुको कारण निगमले कर्मचारीको भार कति भोग्नुपरेको छ भन्ने विषयमा अध्यक्षले जानकारी दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर ज.ब.रा.ले निगमलाई बलियो बनाउनको लागि जहाज वृद्धि गर्नुपर्ने बताएका छन् । उनले चार वटा विमानले समग्र मुलुकको पर्यटन क्षेत्रलाई असर पारेको बताए । उनले दुई वर्षदेखि विमान थप गर्ने भनिए पनि अहिलेसम्म किन खरिद गर्न नसकेको ? भन्दै प्रश्न गरे । उनले विनियमावली सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

उनले निगमको व्यवस्थापनले विनियमावलीलाई देखाएर काम गर्न नखोजेको देखिएको बताए । उनले निगम व्यवस्थापनको विषयमा पनि सरकारले विचार गर्न आवश्यक देखिएको बताए । उनले निगमको व्यवस्थापन नयाँ ढङ्गमा नगएसम्म सुधार हुने अवस्था नदेखिएको भन्दै सरकारले तत्काल नयाँ कदम चाल्न सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद हितबहादुर तामाङले वायुसेवा निगमको वर्तमान नेतृत्वबाट निगम सुधारको अपेक्षा गर्न नसकिने बताए । उनले जहाज मर्मतदेखि अन्य विषयमा समेत वर्तमान नेतृत्वको असक्षमता देखिएको बताए । उनले जहाजको सि चेक गर्न समेत समयमा नसक्ने नेतृत्व आवश्यक नभएको बताएका छन् ।

उनले निगमको नेतृत्वको नियमनकारी निकायसँग राम्रो सम्बन्ध नहुँदा पनि समयमा काम नभएकोे बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवीप्रकाश भट्टचनले सरकारले तत्काल ठोस निर्णय गरे मात्रै निगम बच्नसक्ने धारणा राखेका छन् । उनले सरकारले निगम सुधारको लागि लिने निर्णय ढिलो गर्‍यो भने निगम बचाउन गाह्रो हुने बताए । उनले निगमको १ सय अर्बको सम्पतीमा ५२ अर्ब ऋण रहेकाले विदेशी कम्पनी निगममा लगानी गर्न नआउने बताएका छन् ।

उनले विदेशी कम्पनीको लगानी ल्याउने भन्नु समय बिताउने खेल मात्रै हुने बताए । उनले स्वदेशी लगानीकर्ताले लगानी गर्नसक्ने सम्भवाना रहेको भन्दै ऋणलाई इक्विटीमा परिणत गर्नसक्ने अवस्था रहेको बताएका छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?