Trending
>>   एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने >>   सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल >>   प्रचण्डलक्षित अर्जुननरसिंह केसीको टिप्पणीः ओठे भक्तिको प्रदर्शनले देश बन्दैन >>   प्रचण्डलाई महेश बर्तौलाको आग्रहः समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला >>   माघ ४ देखि काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै >>   टर्किएले २०२४ मा समुन्द्रमा ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोक्यो >>   माटोको क्षयमा कारबाही गर्न अस्ट्रेलियाली वैज्ञानिकहरूको आह्वान >>   अस्ट्रेलियामा ज्याला चोरी गर्नेलाई १० वर्षसम्मको जेल सजाय हुने >>   दक्षिण कोरियाली राष्ट्रपति योललाई आज पक्राउ गर्ने तयारी >>   सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा जनाका लागि जागिरको अवसर
Logo
१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण


काभ्रेपलाञ्चोक । धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनः निर्माणपछि पानी वितरण सुरु भएको छ ।

गत असोज दोस्रो साताको बाढी पहिरोले आयोजनामा क्षति पुर्‍याएपछि नगर क्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खानेपानी तथा सरसफाइ समितिले जनाएको छ ।

उक्त आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका-१२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । आयोजनाबाट तीन हजार दुई सय घरमा खानेपानी वितरण भएको छ ।

हाल धुलिखेलस्थित मुख्य ट्यांकीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्यांकीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एक/दुई दिन लाग्ने समितिका अध्यक्ष कृष्ण भूषण श्रेष्ठले बताए । उनका अनुसार तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न रु. १९ लाख ७९ हजार खर्च भएको छ ।

आयोजनाको स्थायी पुनः निर्माण गर्न रु. तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पुनः निर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जूको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनः निर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो ।

जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयनस्वरुप रु. एक करोड ४५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले जानकारी दिए । जर्मनीबाट प्राप्त सो रकम आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनः निर्माणमा खर्च गरिने जनाइएको छ । बाढी पहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरू तीन महिनादेखि खानेपानी विहीन थिए ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?