Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’


काठमाडौँ । वीरगञ्ज महानगरले घण्टाघरचोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएका छन् ।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गत शुक्रबार दोस्रोपटक सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र घण्टाघरस्थित बिपी उद्यान हाताभित्र सञ्चालनमा रहेका तरकारी तथा फलफूल बजार खाली गर्नका लागि आह्वान गरेका हुन् ।

महानगरले यसअघि मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएका थिए । सो म्याद पनि गत पुस १० गते सकिएको थियो । तर सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गर्दै आइरहेका छन् ।

वीरगञ्जको मुख्य स्थानमा रहेको अस्तव्यस्त बजारले यहाँको सौन्दर्यीकरणमा समेत समस्या पार्दै आइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरले बिपी उद्यानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्दै आइरहेका व्यापारीलाई महानगर–१६ मा रहेको नगवास्थित कृषि बजारमा व्यवस्थापन गर्न लागेको जानकारी दिएका छन् ।

“महानगरले तोकिएको समयभित्रै तरकारी तथा फलफूल बजार खाली नगरेको खण्डमा सोही व्यापारी तथा व्यवसायीबाट खाली गराउँदा लाग्ने खर्च पनि उठाइनेछ,” उनले भने । बिपी उद्यान वीरगञ्ज महानगर–९ मा पर्छ । वीरगञ्ज महानगर–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले तरकारी तथा फलफूल व्यापारीलाई उपयुक्त विकल्प दिएर बिपी उद्यान खाली गर्नुपर्ने बताए ।

“बिपी उद्यानलाई सौन्दर्यीकरण गरेर व्यवस्थित गर्न जरूरी भइसकेको छ । तर यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यवसायीलाई पायक पर्ने ठाउँमा व्यवस्थापन गर्नुपर्ने हुन्छ,” उनले भने , “वडा नम्बर १६ स्थित नगवास्थित कृषि बजारमा टाढा हुने सम्भावना रहेको छ । सोबाहेक अन्य ठाउँको विकल्पको विषयमा छलफल गर्दा राम्रो हुने देखिन्छ ।” महानगरले यो ठाउँमा बिपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?