Trending
>>   रास्वपाको केन्द्रीय समिति बैठक शनिवार बस्दै >>   आजको मौसम : यी चार प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २३ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल >>   रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी >>   कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा छठ पर्वको शुभकामना >>   कसरी भयो छठ मनाउने प्रचलनको थालनी? >>   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना >>   छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल >>   आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २२ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

गहुँ खेतीमा रगिन गरिँदै


१६ चैत ,टीकापुर । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो ।

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ ।

उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका फोकल पर्सन फुलराम कठरियाले बताए । “हामी किसानसँगै रगिन कार्यमा खटेका छौँ, रगिन गर्दा किसानलाई नै फाइदा पुग्छ”, उनले भने, “यहाँ व्यक्तिगत र समूहमा मिलेर बीजवृद्धिका लागि गहुँ खेती गरिएको छ ।” बीजवृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीजवृद्धि खेती गरेको छ ।

गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेकोे गहँुबालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ ।

सोहीअनुसार आफूहरुले रगिन गरिरहेको मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए । “बेजात, झारपात हटाउनका लागि रगिन गरिएको हो”, उनले भने, “बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ ।” गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रगिन गरिनु आवश्यक भएको प्राविधिक बताउँछन् ।

रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गर्ने गरिन्छ । यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ । सोही आधारमा रगिनको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रगिन गर्ने कार्य भइरहेको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए । बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्दछ ।

रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीजवृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रगिन टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए । “विगत वर्षबाटै यो भइहरेको छ । रगिन गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन”, उनले भने, “स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रगिन गर्न सल्लाह दिएका छौँ ।”


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?