कजाकिस्तान। अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।
कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रुसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् । कजाकिस्तानका अधिकारीले भनेका छन्, “विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको सङ्ख्या अझै औपचारिकरुपमा पुष्टि हुन सकेको छैन ।”
विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी शहरका लागि उडेको थियो ।
विमान दुर्घटनापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले पूर्व सोभियत राष्ट्रहरुको समूह ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’का नेताहरुको अनौपचारिक शिखर सम्मेलनमा भाग लिन रुसको भ्रमणको कार्यक्रम छोट्याएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कजाकिस्तानको यातायात मन्त्रालयले टेलिग्राममा भनेको छ, “बाकु-ग्रोज्नी हवाई मार्गमा उडेको एउटा विमान अक्ताउ शहर नजिकै दुर्घटनाग्रस्त भएको छ । यो अजरबैजान एयरलाइन्सको हो ।”
अजरबैजानको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सका अनुसार विमानमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । विमान अक्ताउबाट करिब तीन किलोमिटर टाढा ‘आपतकालीन अवतरण’ गरिएको बताइएको छ । विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका छ जना, किर्गिस्तानका तीन जना रुसका १६ जना रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ ।
कजाकिस्तानको आकष्मिक व्यवस्था मन्त्रालयले विमान दुर्घटना हुँदा लागेको आगो आफ्ना कर्मचारीले नियन्त्रणमा लिएको जनाएको छ । “प्रारम्भिक जानकारीअनुसार विमानमा सवार दुई बालबालिकासहित २८ जनालाई अस्पताल भर्ना गरिएको छ,” मन्त्रालयले भनेको छ । घटनास्थलमा १५० भन्दा बढी तालिमप्राप्त कर्मचारी उद्धारका लागि जुटेका छन् ।
कजाकिस्तानको राजधानी अस्तानाबाट घाइतेको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको विशेष विमान पठाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अलियेभको कार्यालयले भनेको छ, “राष्ट्रपतिले विपत्तिको कारण पत्ता लगाउन तत्काल कदम चाल्न निर्देशन दिनुभएको छ ।”
स्थानीय स्वास्थ्य अधिकारीहरूले यसअघि दिएको जानकारीमा १४ जना घाइतेलाई क्षेत्रीय अस्पतालमा लगिएको र पाँच जनालाई सघन उपचार कक्षमा राखिएको बताएका थिए भने स्थानीय सञ्चारमाध्यमले विमानमा सवार २५ जनालाई जीवितै उद्धार गरिएको र पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरेका थिए ।
प्रकाशित मिति: १० पुष २०८१, बुधबार