Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश


काठमाडौँ । राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।

सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो ।

एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ । राष्ट्रिय खोप तालिकामा एचपिभी खोप समावेश गर्न राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरिसकेका छन् ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यस वर्षदेखि एचपिभी खोप अभियान चल्ने भएकाले खोप तालिकामा समावेश गरिएको बताए  । नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय गरिसकेका छन्  ।

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गरेको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यसाथ करिब १७ लाख किशोरीलाई खोप दिन लगाइनेछन्  । यही माघ २२ गतेदेखि एचपिभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने भएका छन्  ।

डा गौतमले भने , “हरेक वर्ष नियमित खोप सेवामार्फत कक्षा ६ तथा विद्यालय बाहिर रहेका १० वर्षे किशोरीलाई खोप दिने लक्ष्य छ । विश्व क्यान्सर दिवसका अवसर पारेर १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिन लागिएको छ  । आगाम वर्षदेखि फागुन महिनालाई नियमित एचपिभी खोप सेवा सञ्चालन गर्ने महिना निर्धारण गर्ने सोचेका छौँ । आव २०८२÷८३ देखि नियमित एचपिभी खोप सेवा सञ्चालन गरिनेछ ।”

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलाहरुलाई यस्तो क्यान्सर हुन्छ भन्ने अनुमान छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाहरुको पाठेघरको मुखबाट मृत्यु हुने अनुमान गरेका छन्  ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?