Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

झापाका किसानलाई शत्प्रतिशत अनुदानमा ‘डिप बोरिङ’


१४ चैत्र, काठमाडाैँ । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।

नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ र ३ मा यसै वर्षदेखि परियोजना लागू भएको हो ।

झापा भूमिगत सिँचाइ परियोजनाका इन्जिनियर भूविक्रम नेम्बाङका अनुसार कचनकबल र भद्रपुरका १० वटा वडामा शत्प्रतिशत अनुदानमा एक सय ७१ वटा ‘डिप बोरिङ’ स्थापना गरेर आठ हजार पाँच सय बिघा जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुर्याइने कार्यक्रम छ । परियोजना सञ्चालनका लागि नेपाल सरकारले यसै वर्ष शिवसताक्षी नगरपालिका–१० माईधारमा आयोजनाको कार्यालय र भद्रपुरमा फिल्ड कार्यालय स्थापना गरेर परियोजनाको कार्य धमाधम भइरहेको उनले बताए ।

“यो शत्प्रतिशत अनुदानमा आधारित कार्यक्रम हो, यसमा किसानले केही पनि लगानी गर्नु पर्दैन”, परियोजनाका बारेमा जानकारी दिँदै इन्जिनियर नेम्बाङले भने, “नदीको सिँचाइ नपुगेका उर्वर जग्गामा सिँचाइको सुविधा पुर्याएर कृषिको उत्पादकत्व बढाउन योगदान पुर्याउन सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको हो ।”

आयोजनाबाट सिँचाइ सुविधा लिन ५० देखि ६० बिघा जग्गाका किसानले आपसमा मिलेर उपभोक्ता समिति गठन गर्नुपर्ने र त्यसलाई कार्यालयमा दर्ता गराउनुपर्ने हुन्छ । सम्बन्धित वडा कार्यालयबाट ल्याएको सिफारिसका आधारमा उपभोक्ता समितिले माग गरेबमोजिम आयोजनाले सिँचाइ कार्यक्रम सञ्चालन गर्ने प्रावधान छ ।

चालु आर्थिक वर्षमा कचनकबलको वडा नं १ र ३ तथा भद्रपुरको वडा नं ३ का उपभोक्ता समितिको मागबमोजिम ३५ स्थानमा ‘डिप बोरिङ’ खन्ने कार्य अघि बढाइएको र अर्को वर्ष थप स्थानमा पनि सिँचाइ सुविधा पुर्याइने उनले जानकारी दिए । “केही स्थानमा ‘डीप बोरिङ’को काम सकेका छौँ, परीक्षणका लागि पानी फ्याँक्ने कार्य भइरहेको छ,” इन्जिनियर नेम्बाङले भने, “एउटा बोरिङको पानीले ६० बिघासम्म सिँचाइ हुन्छ । एक सय ३० मिटर गहिराइबाट पानी निकालेका छौँ ।” प्रति सेकेन्ड २० लिटरका दरले ‘डीप बोरिङ’बाट पानी आइरहेको उनले बताए ।

आयोजनाले किसानलाई सामूहिक रुपमा सुविधा उपलब्ध गराउने भएकाले परियोजनामा किसानको सहकार्य बलियो हुने देखिएको छ । सरकारका तर्फबाट ‘डिप बोरिङ’ खन्ने कार्य सकेपछि हाइटेन्सन लाइनबाट बिजुलीको सुविधा पुर्याउने र खेतखेतमा पानी वितरणका लागि पाइप बिछ्याउने कार्य गरिने छ । विद्युतीकरण, पाइप विस्तार र २५ देखि ५० केभिएसम्मको ट्रान्सफर्मर जडानको सम्पूर्ण लागत आयोजनाले नै ब्यहोर्ने इन्जिनियर नेम्बाङले बताए । खेतमा पानी पटाउन सहज होस् भनेर हरेक चार बिघा जग्गामा एउटाका दरले पानीको पोइन्ट राखिने परियोजनाले जनाएको छ ।

किसान उत्साही

आकाशे वर्षाको भरमा सिँचाइमा निर्भर स्थानीय किसान अब विद्युत्बाट चल्ने भूमिगत सिँचाइ आयोजना गाउँमा आएपछि उत्साही भएका छन् । कचनकबल गाउँपालिका–१ सोमबारेकी भागिरथा अधिकारीले आफ्नो वडामा नै आठवटा जल उपभोक्ता समिति गठन भइसकेको बताइन् । कचनकबलमा धान, मकै र तोरी गरी नियमित तीन बाली खेती हुने गरेको छ ।

बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएपछि किसानले व्यावसायिक तरकारी खेती गर्ने तयारी गरिरहेको समेत उनले जानकारी दिइन् । “निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीतर्फ जाने सोचाइमा छन् यहाँका किसान,” अधिकारीले भनिन्, “सरकारले ल्याएको भूमिगत सिँचाइ परियोजनाले जीवनस्तर उकास्ने आशा गरेका छौँ ।”

उनि सोही वडाको सोमबारे जल उपभोक्ता समितिको अध्यक्ष हुन् । अधिकारीको क्षेत्रमा परियोजनाले डिप बोरिङ, ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको कार्य गरेको छ भने विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ ।

जिल्लाभर परियोजना विस्तार

नेपाल सरकारले कचनकबल र भद्रपुरमा मात्र भूमिगत सिँचाइ परियोजना लागू गर्ने योजनाका साथ कार्यारम्भ गरेको भए पनि स्थानीयवासीको माग बढेपछि जिल्लाभर विस्तार गरिने भएको छ ।

झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन दुई महिनाअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेको बेला मन्त्रिपरिषद्को बैठकले परियोजनालाई झापा जिल्लाभर विस्तार गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार आयोजनाले हाल कचनकबल र भद्रपुरसहित अन्य पालिकाहरुबाट समेत उपभोक्ता समितिहरुको माग सङ्कलन गरिरहेको र विभिन्न पालिकाबाट मागबमोजिम १२ वटा स्थानमा ‘डिप बोरिङ’ थपिने इन्जिनियर नेम्बाङले बताए ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?