Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

हात्तीमैत्री ‘सामूहिक खेती’


१४ चैत्र ,झापा । जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् ।

मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६ किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई बिघा जग्गा भाडामा लिएका छन् । सो जग्गामा किसानले तरकारी खेती लगाएका छन् । भर्खरै उनीहरूले आलु फलाएका छन् भने भिण्डी, टमाटर, घिरौला, बोडी, फर्सी, लौका, सिमरायोको सागलगायतका सब्जीको बिरुवा हुर्काइरहेका छन् ।

किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार खेतीका लागि हरेक सदस्यबाट रु पाँच हजारका दरले बीउ पूँजी सङ्कलन गरिएको छ भने समूहलाई वडा कार्यालयले रु एक लाख ५० हजार अनुदान दिएको छ । “हात्तीसँग दुश्मनी गरेर होइन, सहअस्तित्वलाई स्वीकार गरेर अब हामी मानव–हात्तीबीच मैत्रीपूर्ण वातावरण बनाउने प्रयासमा लागेका छौँ”, मेचीनगर वडा नं ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले भने, “हात्ती र मान्छेबीच खुनी सङ्घर्ष भएको धेरै वर्ष भइसक्यो । धेरै मानिस र हात्तीले ज्यान गुमाएका छन् । अब दुवैले बाँच्ने वातावरण बनाउन जरुरी छ ।”

‘किसानको हात, वडाको साथ’ कार्यक्रमअन्तर्गत वडा कार्यालयले हात्तीमैत्री किसान समूह गठनलाई सामूहिक सब्जी खेतीमा प्रोत्साहित गरेको हो । वडाका विभिन्न टोलमा सामूहिक खेतीलाई विस्तार गर्ने र पालिकाबाट समेत अनुदान दिलाउने अभियानमा जुटिरहेको वडाध्यक्ष कार्की बताछन्‌ ।

सब्जी खेती गर्न भाडामा लिइएको जग्गा वार्षिक रु ३५ हजार भाडा तिर्ने गरी १० वर्षका लागि लिइएको हात्तीमैत्री किसान समूहका अध्यक्ष आचार्यले बताए । किसानले जग्गा वरिपरि अहिले तरुल रोपेका छन् । बजारमा बिक्ने र हात्तीले भरसक नोक्सानी नगर्ने खालका तरकारी बालीको उत्पादनमा किसानले जोड दिएका छन् । हात्तीले नष्ट नगर्ने कोदो, तोरी, रहरी दाल, अदुवा, बेसार, पिडालुजस्ता तरकारीको खेतीमा किसान लागेका छन् ।

सामूहिक खेतीको बालीमा पसेर हात्तीले नष्ट गरिदिएमा सबै सब्जीको क्षतिपूर्ति दिलाउन पालिकाले सहयोग गर्ने वडाध्यक्ष कार्कीले बताए । “हात्तीको क्षति रोक्न सकिँदैन भन्नेमा हामी लगभग सहमत भइसक्यौँ”, समूहका सदस्य एवं किसान धनपति गौतमले भने, “हात्तीले खाएर नष्ट गर्यो भने बीमाबाट क्षतिपूर्ति भराउँछौँ । तरकारी बालीको बीमा गर्छौँ । जतिपटक हात्तीले खाएर बिगार गरे पनि हामी नोक्सानीमा पर्दैनौँ ।”

नगरपालिका बैठकले हात्तीबाट किसानको बालीनाली क्षति भएमा क्षतिपूर्ति दिलाउन बाली बीमा गरिदिने निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए । मेचीनगरमा यस्तो बाली बीमा कार्यक्रम आगामी आर्थिक वर्षदेखि मात्र लागू हुने बताइएको छ ।

कृषि प्राविधिक करण अधिकारीले मानव–द्वन्द्वबाट झापामा सबैभन्दा बढी प्रभावित मानिएको बाहुनडाँगीमा स्थानीय किसानले सुरु गरेको सामूहिक खेती जिल्लाका अरु पालिकाका लागि अनुकरणीय बन्ने बताए । किसानले उत्पादन गरेका सब्जीको बजारीकरणमा समस्या भए स्थानीय सरकारले यसको जिम्मा लिनेसमेत वडाध्यक्ष कार्कीले आश्वासन दिएका छन्‌ ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?