काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरु मारमा परेको बताएका छन् ।
सोमवार काठमाडौंमा नेपाल निर्माण उद्योग परिषद्को कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताए । उनले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरु आफू अनकुुल थप्ने तथा पुराना आयोजनाहरुलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गरेका छन् । उनले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताए । उनले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गरेका छन् । उनले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताए । उनले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बतएका छन् । उनले यस्तो हुँदा बाहिर जाने युवाहरुले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताए । उनले मुलुकभित्र पर्याप्त मात्रामा सामथ्र्य भएपनि मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्य कमजोर बनाइएको बताएका छन् । उनले राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै देश बन्ने बताए । उनले नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताए । उनले पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खाज्यो भनिएको बताए । उनले लोकतन्त्रमा एक वा दुई दलिय नहुने बताएका छन् । उनले लोकतन्त्रमा जसले पनि विकल्प दिनसक्ने बताए । उनले देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिड्न तयार हुनु पर्ने बताएका छन् ।
उनले भने,‘देश बनाउनु छ भने नयाँ ढङ्गले सोच्नुपर्छ । त्यो सोच्ने काम कसैले पनि गरिहेको छैनौं । बाहिर जाने युवाहरुले मूलुकमा जसरी रेमिट्यान्स लिएर आउँछन् त्यसरी नै बाहिर जान्छ । त्यही भएर देश बनेको छैन । हाम्रो आनीबानीमा परिवर्तन नभएकाले देश बन्न सकेको छैन । सबै काम देशभित्रका मानिसहरुले गर्दा मुलुकमा कर तिर्ने थिए । विदेशका मानिसहरु नेपालमा आएर काम गरेपछि नेपालको रकम बाहिर जान्छ । मुलुकभित्र पर्याप्त मात्रामा सामथ्र्य छ । तर मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्यलाई कमजोर बनाएका छौं । जबसम्म राज्य बलियो हुँदैन । तबसम्म देश बनाउन ग्राहो हुन्छ । मुलुकको विकास समृद्धि जतिबेला राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै हुन्छ । जुन चाहेको खण्डमा मुलुकमा नेकपा एमाले र नेपाली काँग्रेसले मात्रै दिनसक्छ । पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खाज्यो भनिएको छ । लोकतन्त्र एक वा दुई दलिय हुँदैन । लोकतन्त्रमा जसले पनि विकल्प दिन पाउँछ । तर विकल्प कसले दिन सक्छ भनेर सोच्ने जनता भएमात्रै देश बन्छ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा दुई वटा मात्रै पार्टी उठेका थिएनन् । धेरै उम्मेदार थिए । देश बनाउने हो भने जनता पनि देश बनाउने बाटोमा हिँड्न तयार हुनुपर्छ । राजनीतिक दल,राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश बन्दैन । बहुदलीय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायीत्व हुनसकेको छैन । पछिल्लो समय निर्माण व्यवसायी लगायत व्यवसायीहरु मारमा परेको कारण पनि राजनीतिक अस्थिरता हो । सरकार परिवर्तनसँगै कार्यक्रम र योजनाहरुमा बजेट नपर्ने,नयाँ आयोजनाहरु थग्ने र बजेट अभाव हुने गरेका छन् । नयाँ सरकार आउने वित्तिकै पुराना ठेक्का लागेका आयोजनाहरु कम बजेट दिने र नयाँ आयोजनामा छुट्याउने फेरि अर्को नयाँ सरकार आउने फेरि त्यस्तै गर्ने सिलिसिला राजनीतिक अस्थिरताको कारण भएको हो । जति सरकार परिवर्तन भएपनि धन्दा त्यही छ । नीतिगत स्थायित्वको आधार भनेको राजनीतिक स्थायित्वबाट हुन्छ । साना पार्टीका साथीहरुले चिन्ता गर्नु परेन । मन मिलेको पार्टीसँग मिल्दा हुन्छ ।’
प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार