Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र


महोत्तरी । दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो । मिथिलामा आज दीपावलीको पहिलो दिन ‘धनतेरस’ मनाइँदै छ । धनतेरससँगै यस वर्ष तिहार (दीपावली) आज सुरु हुनेछ ।

दीपावलीका लागि अहिले मिथिला क्षेत्रका सबैजसो घर रङरोगन गरेर चम्काइएका छन् । सबैका घरमा आफ्नो दक्षताअनुसार रमाइलो पर्व दीपावलीको तयारी गरिएको स्थानीय बताउँछन् । धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ ।

यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ । पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । आजदेखि सुरु भएको यो पर्व आगामी आइतबार भ्रातृद्वितीया अर्थात् मैथिल परम्पराको भैयादूज मनाइएर सम्पन्न गरिनेछ ।

यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गोधन र भैयादुज मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेस्रो दिन कात्तिक औँसीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ । मिष्ठान्न परिकार खाने खुवाइने यो पर्वको चौथो दिन गाईगोरुलाई रङ्ग्याउने, सिङ र खुरमा तोरीको तेल लगाइदिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचिकर खानेकुरा दिने मैथिल चलन छ । यसैदिन गोवद्र्धन पूजा पनि गरिन्छ । यस दिनलाई गोवर्द्धन भन्ने गरिएको छ ।

पौराणिक कथानक पाताललोकका राजा बलिको सन्दर्भ जोडिने यो पर्वमा कात्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ पर्व मनाउने मैथिल परम्परा छ । राजा बलिलाई बहिनी गङ्गा र यमुनाले मङ्गल कामनाका साथ सप्तरङ्गी टीका र माला लगाइदिएका सम्झनामा यो पर्व परम्परा चलेको मैथिल जनविश्वास छ । पर्वको पहिलो दिन कागतिहार र दोस्रो दिन कुकुर पूजा गरिने परम्परा भने मिथिलामा देखिँदैन ।

मैथिल ‘यमपञ्चक’ पर्व विधिमा पनि कागपूजा र स्वानःपूजा ९कुकुरपूजा० को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताउनुभयो । उहाँका अनुसार यो व्यवहारमा भने देखिँदैन ।

दीपावली पर्वसँगै अहिले घरको रङरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको व्यापार बढेको स्थानीय व्यापारी बताउँछन् । दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल समुदाय अहिले व्यस्त देखिन्छन् ।

यमपञ्चक सकिनासाथ लगत्तै दुई दिनपछि सुरु हुने छठ र छठसँगै थालिने सामाचकेवा पर्वको रमझम र तयारी पनि मिथिला क्षेत्रमा बढेको झाले बताउनुभयो । यसले गर्दा जताततै पर्वको रमझमले मिथिला क्षेत्र अहिले पर्वमय बनेको छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?