Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र


महोत्तरी । दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो । मिथिलामा आज दीपावलीको पहिलो दिन ‘धनतेरस’ मनाइँदै छ । धनतेरससँगै यस वर्ष तिहार (दीपावली) आज सुरु हुनेछ ।

दीपावलीका लागि अहिले मिथिला क्षेत्रका सबैजसो घर रङरोगन गरेर चम्काइएका छन् । सबैका घरमा आफ्नो दक्षताअनुसार रमाइलो पर्व दीपावलीको तयारी गरिएको स्थानीय बताउँछन् । धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ ।

यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ । पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । आजदेखि सुरु भएको यो पर्व आगामी आइतबार भ्रातृद्वितीया अर्थात् मैथिल परम्पराको भैयादूज मनाइएर सम्पन्न गरिनेछ ।

यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गोधन र भैयादुज मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेस्रो दिन कात्तिक औँसीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ । मिष्ठान्न परिकार खाने खुवाइने यो पर्वको चौथो दिन गाईगोरुलाई रङ्ग्याउने, सिङ र खुरमा तोरीको तेल लगाइदिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचिकर खानेकुरा दिने मैथिल चलन छ । यसैदिन गोवद्र्धन पूजा पनि गरिन्छ । यस दिनलाई गोवर्द्धन भन्ने गरिएको छ ।

पौराणिक कथानक पाताललोकका राजा बलिको सन्दर्भ जोडिने यो पर्वमा कात्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ पर्व मनाउने मैथिल परम्परा छ । राजा बलिलाई बहिनी गङ्गा र यमुनाले मङ्गल कामनाका साथ सप्तरङ्गी टीका र माला लगाइदिएका सम्झनामा यो पर्व परम्परा चलेको मैथिल जनविश्वास छ । पर्वको पहिलो दिन कागतिहार र दोस्रो दिन कुकुर पूजा गरिने परम्परा भने मिथिलामा देखिँदैन ।

मैथिल ‘यमपञ्चक’ पर्व विधिमा पनि कागपूजा र स्वानःपूजा ९कुकुरपूजा० को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताउनुभयो । उहाँका अनुसार यो व्यवहारमा भने देखिँदैन ।

दीपावली पर्वसँगै अहिले घरको रङरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको व्यापार बढेको स्थानीय व्यापारी बताउँछन् । दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल समुदाय अहिले व्यस्त देखिन्छन् ।

यमपञ्चक सकिनासाथ लगत्तै दुई दिनपछि सुरु हुने छठ र छठसँगै थालिने सामाचकेवा पर्वको रमझम र तयारी पनि मिथिला क्षेत्रमा बढेको झाले बताउनुभयो । यसले गर्दा जताततै पर्वको रमझमले मिथिला क्षेत्र अहिले पर्वमय बनेको छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?