Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पुल निर्माण हुने भएपछि स्थानीय खुसी


१२ चैत्र, कैलाली। कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् ।

लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको थिएन ।

टीकापुर नगरपालिकाका कमल बुढा पुल बन्ने खबरले खुसीको आभास भएको बताउँछन् । उनि त्यहीँ सनकट्टीको बाटो हुँदै दैनिक ओहोरदोहोर गर्छन् । घर टीकापुर भए पनि व्यापारका लागि बर्दियाको गेरुवा गाउँपालिका शान्तिबजारमा गइरहनुपर्छ । आवतजावतका लागि डुङ्गा आवश्यक पर्छ ।

“हिउँदमा कर्णालीमा पानी कम हुन्छ । डुङ्गामा सवार गर्दा खासै डर लाग्दैन”, कमलले भने, “बर्खाको उर्लँदो भेलमा किनारमा नपुग्दासम्म मृत्युले झस्काउँछ । पुल बनेपछि सहजरुपमा आवागमन हुने आशा पलाएको छ ।”

टीकापुरका सुन्दर चौधरी मोटरसाइकलमा व्यापार गर्नुहुन्छ । उहाँ बिहानै चाउमिनलगायत अन्य सामान लिएर बर्दिया पुग्छन् । उनको त्यो दैनिकीजस्तै हो । बर्दिया पुग्नका लागि उहाँ राजापुरको बाटो जानुपरे सत्ती पुल प्रयोग गर्छन् । नभए त्यहीँ सन्कट्टीमा सञ्चालन हुँदै आएको डुङ्गा ।

“दैनिक बर्दिया जाँदा खर्च बढेको छ भने जोखिम पनि उत्तिकै छ”, चौधरी भन्छन्, “आफूले चाहेको बेला डुङ्गा पाइँदैन । साँझ समयमा पुग्नुपर्छ भने बिहान समय मिलाएर पुग्नुपर्छ ।” पुल निर्माणको खबरले टीकापुर र बर्दियाको दुरी छोटो बनाउने विश्वास चौधरीले व्यक्त गरे ।

सुदुरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण भएपछि दुई प्रदेश तथा टीकापुर र बर्दियाको व्यावसायिक सम्बन्ध स्थापित हुने अनुमान गरिँदै आएको छ । सन्कट्टीमा पुल निर्माणकै लागि कैयौँ पटक बहस र छलफल भएको थियो भने सङ्घीय सरकार समक्ष ‘डेलिगेशन’ पनि पुगेको थियो ।

विसं २०७४ मा सुदूरपश्चिम प्रदेश सरकारले पुल निर्माणलाई बहुवर्षीय योजनाका रूपमा अघि सारेको थियो । तर दुई प्रदेशसँगको विषय भएका कारण प्रदेशको त्यो योजनाले काम गर्न नसकेको सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल बताउँछन् ।

“पुलका लागि निकै मेहनत गर्नुपर्यो । कहिले सङ्घीय सरकार त कहिले प्रदेश सरकारसँग समन्वय र सहकार्य भयो”, डा रावलले भने, “अन्ततः सङ्घीय सरकारले हाम्रो आवाज सुनेको छ । अब टीकापुर र बर्दियाको व्यापारिक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा लिएका छौँ ।”

व्यापारीहरूको संस्था टीकापुर उद्योग वाणिज्य सङ्घले पनि पुल निर्माणको पहल गर्नका लागि महोत्सवको आयोजना गर्यो । महोत्सव सम्पन्न भयो तर पुल निर्माणको योजनाले पूर्णता पाउन सकेन ।

अहिले पुल निर्माणका लागि सङ्घीय सरकारले रसुवा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेर काम अगाडि बढाएको छ । गएको मङ्सिरमा भएको सम्झौताअनुसार ५३ महिनामा पुल निर्माण गरिसक्नुपर्ने छ । करिब एक अर्बभन्दा बढीको लागत रहेको उक्त पुल सात सय ५० मिटर लम्बाइको रहने निर्माण कम्पनीका इञ्जिनियर कृष्ण ढुङ्गेलले बताए ।

“सम्झौता भएपछि स्थलगत अध्ययन गरेर डिजाइनको काम भइरहेको छ । डिजाइनको काम सकिएपछि लगत्तै काम सुरु गर्छौँ”, उनले भने, “सम्भवतः एक डेढ महिनामा डिजाइनको काम सम्पन्न हुन्छ होला । त्यो समयसम्म कर्णाली नदीमा पानीको बहाव नबढे काम सुरु गर्छौँ, नभए बर्खापछि काम सुरु हुन्छ ।”

टीकापुर नगरपालिका–२ का वडाध्यक्ष दीपक चौधरीले टीकापुरका लागि सनक्ट्टीको पुन निकै महत्वपूर्ण हुने बताए । उनले टीकापुर र बर्दियाको सम्बन्ध निकै नजिक रहेको बताउँदै दैनिक सयौँ नागरिकले डुङ्गाको सहारामा कर्णाली वारपार गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

“वर्षौँदेखि त्यहीँ एउटा सपना थियो सन्कट्टीमा पक्की पुल । जसका लागि कैयौँपटक राज्यका अधिकांश निकायमा पुगेका थियौँ”, वडाध्यक्ष चौधरीले भने, “आज त्यो राज्यले सुनेको छ । नागरिक खुसी छन् । पुल निर्माण भएपछि टीकापुरको व्यवसायमा टेवा पुग्ने विश्वास छ ।”


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?