Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर


१२ चैत्र, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ ।

विभिन्न संघसंस्थाको सहकार्यमा उपमहानगरले अभियान कार्यान्वयनमा ल्याएको हो ।

अभियानअन्र्तगत मोहना–अत्तरिया सडकमा काठमाडौंको जावलाखेल ग्रूपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् ।

सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ । ६ लेन सडकको धनगढी चौराहबाट भन्सारसम्म तारजाली लगाउने काम जावलाखेल ग्रूपले गरेको हो । बोराडाँडीबाट विमानस्थल जाने बाटोसम्म धनगढी उपमहागरले आफ्नै लगानीमा बोटबिरुवा रोपेको जनाएको छ ।

‘६ लेन सडकमा वृक्षरोपण लगाउनुका साथै तारजाली लगाउने काम भएको छ,’ धनगढी उपमहानगरका इन्जिनीयर उपेन्द्र भट्टले भने, ‘यसमा जावलाखेल ग्रूप, सूर्य नेपाल प्रालि, धनगढी विकास समिति र उपमहानगरको लगानी रहेको छ ।’

सूर्य नेपालले यएरपोर्ट जाने बाटोबाट गोदावरी नगरपालिका अर्थात् सिमानासम्म बोटबिरुवा रोप्ने र तारजाली लगाउने काम गरेको इन्जिनीयर भट्टले जानकारी दिए ।

६ लेन सडक विभिन्न भागमा विभिन्न प्रजातिका बोटबिरूवा तथा फूलको बोट रोपेका हुन् । उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण गरिएको नगर प्रमुख गोपाल हमालले बताए । नगरलाई सुन्दर, सफा र हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको उनको भनाइ छ । ‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ,’ उनले भने, ‘त्यसले गर्दा उपमहागरले वार्षिक २ हजार बिरुवा रोप्नुका साथै हुर्काउने अभियान बनाएको छ । त्यसमा पनि टीगार्डसहित हुनेछ ।’

अझ ६ लेन सडकको बीच भागमा बिरुवा र दुबो लगाएर हरियाली बनाउने नगर प्रमुख हमालले बताए । ६ लेन मात्र होइन, निर्माणधीन अवस्थामा रहेका शहीदगेट क्याम्पस रोड सडक, ट्राफिक चौराह क्याम्पस चोक लगायतका सडकमा बिरुवा रोप्ने अभियान छ । उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोग विना सम्भव नभएको बताए ।

‘स्थानीयको सहयोग विना कुनै पनि काम असम्भव हुन्छ,’ उनले भने, ‘बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।’ वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनले जोड दिए ।

उपमहानगरले रोपिएका बिरुवा हुर्काउनका लागि साँझ, बिहान सिँचाइ समेत गर्ने गरेको छ । उपमहानगरको सडक हरियाली पार्ने अभियानले स्थानीय पनि हर्षित भएका छन् । सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको धनगढी उपमहानगर–२ का नितेश बटालाले बताए । ‘धनगढी उपमहानगरले वातावरणमैत्री सडक बनाउने अभियान चालेको छ,’ उनले भने, ‘धनगढी प्रदेशमुकाम भएको हुँदा यसले गर्दा प्रदेशकै गौरव बढ्ने छ ।’ उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्त्वपूर्ण रहेको बताए ।

उपमहानगरमा नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियाली मात्र होइन, प्लाष्टिकका झोला समेत निषेध गर्ने अभियान छ । नगर स्वच्छताका लागि जनाउँदै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लाष्टिकका झोला बेच्न र सामान राखेर दिन रोक लगाएको हो । उपमहानगरले प्लाष्टिकका झोला बन्द गरेपछि कपडाका झोला प्रयोग हुन थालेका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?