काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताउनु भएको छ । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाँहरुमा संघदान कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । ओलीले कार्यक्रममा प्रसन्न भएर आउने चाहना भए पनि जहाज दुर्घटनाका कारण भारी मनकन साथ आएकाे भन्दै सम्वाेधन सुरु गर्नुभयाे । उहाँले मृतकप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयाे । उहाँले जहाजका क्याप्टेनकाे स्वास्थलाभकाे कामना गर्नुभयाे ।
ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेकाे मेहनतकाे प्रसंसा गर्नुभयो । ज्ञान संग्रह गरेर पुस्तकका रुपमा बाँडेकाे भन्दै विशेष धन्यवाद दिनुभयाे । ओलीले हाम्रो समाज विविधतायुक्त भएको भन्दै दुरुस्त केही नहुने उल्लेख गर्नुभयाे । उहाँले नेपाल सामाजिक, भाैगाेलिक, जैविकलगायतका विविधतायुक्त भएको पनि उल्लेख गर्नुभयाे । उहाँले बुद्धधर्मबारे पनि चर्चा गर्नुभयाे । उहाँले बुद्धलाई विविध ढंगले चिन्ने गरेकाे उल्लेख गर्नुभयो । बुद्धले त्यसै सुखसयल र दरबार नछाेडेकाे पनि उल्लेख गर्नुभयो । नेपाल बुद्धकाे जन्मथलाे मात्रै हाेइन बुद्ध दर्शनकाे थालनी भएको देश पनि हाे भन्नुभयाे ।
याे देशलाई सबै नेपालीकाे साझा देश र शान्तिकाे देशका रुपमा चिनाउनु पर्नेमा पनि जाेड दिनुभयाे । बुद्ध दर्शनलाई जटिल बनाउनु हुन्न भन्दै उहाँले अन्धविश्वासमा नभइ वैज्ञानिक दर्शनमा आधारित भएको उल्लेख गर्नुभयाे । थप समाचार धम्मवती गुरुमालाई सांसद बन्नु भन्दा नमानेकाे पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयाे । उहाँले नेपालबाट बुद्ध दर्शनलाई कमजोर हुन नदिने पनि बताउनुभयाे । उहाँले बुद्धकाे शिक्षाकाे विस्तार गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले दान ठूलो कुरा भएको भन्दै आफुलाई मृगौला दान नगरेकाे भए आफ्नाे अहिले १७ औं पुन्यतिथि हुनेथियाे भन्नुभयाे ।
पुस्तकका लेखक एवं बौद्ध विद्वान डाक्टर शाक्यले आफ्नो पुस्तकबारे चर्चा गर्दै बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौं ? किन मर्छौ ? मानिस भनेको के–हो ? यो भवचक्र किन चलिरहेको छ ? यी सबै प्राणीहरु भनेका के हुन ? यो ब्रम्हाण्ड भनेको के–हो ? स्वर्ग नर्क आदि लोक भनेको के–हो ? पूर्व जन्म भनेको के हो ? कर्म भनेको के हो ? अनित्य, दुःख र अनात्म भनेका के–हुन् ? कर्म विपाक हुन्छ कि हुँदैन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्त चेतना भनेका के हुन ? जस्ता यावत प्रश्नहरु बौद्ध दर्शनका पाठकहरु समक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो ।
‘जिवन जिउँने कला वा होशपूर्ण रुपमा मर्ने कला सम्बन्धि बौद्ध दर्शनलाई पाठकहरु समक्ष स्पष्ट पार्न पनि पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको छु,’ उहाँले भन्नुभयो, ‘ध्यान र यसको विज्ञान नामक पुस्तक लेख्नेक्रममा उक्त पुस्तकको पहिलो अध्याय नै एउटा पुस्तकका रुपमा प्रकाशित गर्दा उचित होला भन्ने ठानी मैले पहिलो अध्यायलाई पुस्तकका रुपमा ‘बुद्धका मौलिक दर्शन’ भनी प्रकाशित गरेको हुँ ।’ उहाँले बुद्धका दर्शनहरुबारे लाखौं पुस्तक प्रकाशित भइसकेको अवस्थामा यो पुस्तक पनि त्यही क्रमको एउटा प्रयास मात्र भएको उल्लेख गर्नुभयो । ‘यो पुस्तक ‘बुद्धका मौलिक दर्शन’ मा बुद्धका आधारभुत शिक्षाहरुका बारे उल्लेख गरिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले बुद्धका आधारभूत शिक्षाका बारे जानकारी लिन चाहनु हुने पाठकहरुका लागि ‘बुद्धका मौलिक दर्शन’ नामक यो पुस्तक फलदायी हुने अपेक्षा गरेको छु ।’
डाक्टर शाक्यको कृतिबारे उल्लेख गर्दै कार्यक्रमका संयोजक एवं भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले मूलतः बुद्ध धर्ममा अभ्यास गरिने ध्यान सम्बन्धी पुस्तक भएको उल्लेख गर्नुभयो । ‘बुद्ध धर्म एक विराट प्रकृतिको धर्म हो । यो धर्ममा मानवसेवासँग सम्बन्धित दर्शनका साथसाथै ध्यान, पूजा, पाठ, भजन, दान आदि जस्ता विभिन्न पक्षहरू पनि जोडिएका छन् । यी मध्ये पनि ध्यान सबैभन्दा महत्वपूर्ण तत्व हो,’ उहाँले भन्नुभयो, ‘सर्वसाधारणलाई पूजा, पाठ र भजन सजिलो हुने भएकोले बुद्ध धर्ममा पनि यो पक्ष सवल हुँदै आएको छ भने ध्यान पक्ष ओझेलमा पर्दै गएको देखिन्छ ।’
पुस्तकको पहिलो भागमा ध्यान अभ्यास गर्नु पूर्व मनन् गर्नुपर्ने विभिन्न विषयहरूका बारेमा चर्चा गरिएको पनि उहाँले उल्लेख गर्नुभयो । ‘ध्यान मुलतः चित्तलाई नियन्त्रण गरी चञ्चल हुनबाट जोगाउने मानसिक मार्ग हो । तसर्थ ध्यान अभ्यास गर्नु अघि मानिसको चित्त के हो ? यो कसरी सञ्चालन हुन्छ ? यसका अवयवहरू के–के हुन् ? आदि जस्ता विषयमा जानकार हुनु अनिवार्य हुन्छ । यो नै बुद्धले प्रतिपादन गरेको मूल दर्शन हो । त्यसैले पुस्तकको नाम नै ‘बुद्धका मौलिक दर्शन’ राखिएको छ ।’
पुस्तकले मानिसको चित्तलाई विश्लेषण गरी त्यसभित्र विद्यमान सम्पूर्ण जटिलहरूलाई सरल ढंगले व्याख्या गरेका कारण सर्वसाधारणका लागि पनि पठनीय रहेको उल्लेख गर्नुभयो ।उहाँले यही ध्यानकै विषयमा केन्द्रित भई अध्येता लेखक डा. शाक्यले ध्यान सम्बन्धी एउटा वृहत् ग्रन्थ तयार गर्नुभएको उल्लेख गर्नुभयो । ‘त्यसको पहिलो भागका रुपमा यो पुस्तक प्रकाशित भएको हो,’ उहाँले भन्नुभयो, ‘दोस्रो भाग हामी केही समय पछि प्रकाशित गर्नेछौँ ।’
कार्यक्रममा १ सय जना भिक्षुहरुलाई अष्टपरिष्कार दान प्रदान गरिएको थियो । त्यसैगरी ५५ जना अनगारिका गुरुमाँहरुलाई बस्त्र तथा अन्य बस्तुदान गरिएको थियो । सो, संघदान दाताका रुपमा पुस्तकका लेखक शाक्य र पूर्वराजदूत एवं राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्य हुनुहुन्थ्यो ।
प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार