Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

नारायणी नदीले सतर्कता तह पार गर्‍यो


नवलपुर (नवलपरासी) । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ ।

नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले नदीमा पानीको सतह ७.३७ मिटर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ ।

देवघाटस्थित जल मापन केन्द्रमा पानीको सतह सात दशमलव तीन मिटर पुग्दा सतर्कता तह र नौ मिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ । देवघाटस्थित नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि नवलपुरका नदी नटीय क्षेत्रहरू डुबानमा पर्ने गर्दछन् ।

यसैबीच, नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।

केही दिन अगाडि नारायणीमा आएको बाढीका कारण गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका केही वडा डुबानमा परेका भन्दै उहाँले जिल्लास्थित सुरक्षा निकाय, रेडक्रसलगायत सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

‘जिल्लास्थित विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर काम गरिरहेको छ’, प्रजिअ रिजालले भने, ‘हामीले स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क रहन आग्रह गरेका छौँ ।’

नवलपुरमा नारायणी नदी र कालीगण्डकी नदीको बाढीबाट डुबान तथा कटानको उच्च जोखिम रहेको भन्दै उनले अन्य खहरे खोलाहरूमा आउने बाढीले डुबान हुने गरेको बताए ।

कालीगण्डकी नदीको बाढीबाट बौदिकाली, बुलिङटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको नदी नटीय क्षेत्र प्रभावित हुने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी रिजालले नारायणी नदीको बाढीबाट गैँडाकोट, कावासोती, देवचुली, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका प्रभावित हुने गरेको जानकारी दिए । बाढीबाट नदी किनारका बस्ती जोगाउन तटबन्धसहित अन्य संरचना निर्माण गर्ने काम भइरहेको उनले बताए ।


प्रकाशित मिति: २७ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?