Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै


८ चैत्र ,काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा  कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ । वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ ।

उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो । ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए ।

नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो ।

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताए ।

विदेशमा रहेका श्रमिकले कोषको वेभसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् । स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रु दुई हजार मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?