Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

मेघौली विमानस्थल : धावनमार्गमा ग्रावेल बिछ्याइँदै


७ चैत्र, काठमाडाैँ । मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ । विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राबेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित बनाएर विमानस्थलको स्तरोन्नति गर्न थालिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का इञ्जीनियर नलविक्रम थापाका अनुसार छ महिनाभित्रमा ती काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । धावनमार्गमा ग्रावेल बिछ्याएर सम्याइने छ । यस्तै अहिले भइरहेको तारबारलाई व्यवस्थित बनाइने छ । हाल धावनमार्गमा घाँस भएको र खाल्डाखुल्डीसमेत पर्ने हुँदा जहाज उडान र अवतरणमा समस्या हुँदै आएको छ । विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबार ठाउँ–ठाउँमा चुडिएको, पोल ढलेकाले मानिस र जनावर छिर्ने हुँदा असुरक्षासमेत हुँदै आएको छ ।

उनका अनुसार रु एक करोड ५० लाख हाराहारीमा स्तरोन्नति गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले विगत केही वर्षयतादेखि सो विमानस्थल स्तरोन्नतिका लागि क्यानलाई अनुरोध गर्दै आएको थियो । महानगरपालिका प्रमुख रेनु दाहालले अहिले नै नियमित उडान नभए पनि चार्टर्ड र आपत्कालीन उडान गर्न मिल्ने गरी विमानस्थललाई व्यवस्थित बनाउन लागिएको बताइन् । उनले भनिन्, “अहिले ग्राबेल धावनमार्ग हुन्छ, पछि कालोपत्र बन्ने छ ।” भरतपुर महानगरपालिकाभित्रका दुई विमानस्थल मध्ये भरतपुर विमानस्थललाई विस्तार गरिँदै छ ।

उनले महानगरभित्रका दुवै विमानस्थल स्तरोन्नति र विस्तार गरी जुनसुकै समयमा पनि सञ्चालन गर्न सक्ने गरी काम गर्न लागिएको बताइन् ।

सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि मेघौली विमानस्थल बन्द रहेको छ । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित उडान भएको छैन । नेपाली सेनाले तालिमका लागि विमानस्थलको प्रयोग गर्दै आएको छ । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए ।

विगतमा कुनै समय मेघौली विमानस्थलमा १० वटासम्म जहाजले उडान भर्ने गरेको तथ्याङ्क छ । भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी मेघौली विमानस्थलले पश्चिम चितवनको विकासमा टेवा पुग्ने बताउनुभयो । मेघौली क्षेत्रमा ठूला पर्यटकीय होटल बढ्दै गएकाले विमानस्थलको स्तरोन्नति भएसँगै चार्टर्ड उडान र भविष्यमा नियमित उडानसमेत हुनसक्ने बताए । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै दुवै विमानस्थल व्यवस्थित गर्न लागिपरेको उहाँको भनाइ छ । मेघौली नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि प्रवेश गर्न सहज छ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?