Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लोक सेवा र शिक्षक सेवाका कक्षा चलाउँदै पर्वतका पालिका


पर्वत। युवायुवतीलाई निजामती सेवा र शिक्षक सेवा आयोगको रोजगारीतर्फ आकर्षित गराउने उद्देश्यले यहाँका विभिन्न स्थानीय तहले लोक सेवा आयोग र शिक्षक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका छन् ।

त्यस्तै, ग्रामीण क्षेत्रमा रहेका पालिकामा कर्मचारी सरुवा भएर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने समस्या भएपछि स्थानीय जनशक्ति नै तयार गर्ने उद्देश्य यस्ता कक्षा सञ्चालन गर्न लागिएको हो । उक्त जिल्लाका विहादी गाउँपालिका र महाशिला गाउँपालिकाले शिक्षक सेवा आयोग र लोक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका हुन् ।

त्यसैगरी, महाशिला गाउँपालिकाले यसअघि नै सूचना प्रकाशन गरी गत महिनादेखि कक्षा सञ्चालनमा ल्याएको छ भने विहादी गाउँपालिकाले हालै सूचना जारी गर्दै तयारी कक्षामा सहभागी हुने पालिकाभित्रका युवायुवती, विद्यार्थी तथा योग्यता पुगेका अन्य सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशिलामा २५ जनाले नियमित तयारी कक्षा लिइरहेका छन् ।

सरकारी सेवा क्षेत्रमा विहादीभित्रका युवाको न्यून उपस्थितिलाई उच्च बनाउन, आर्थिकरुपले विपन्न तथा जेहेन्दार युवालाई शैक्षिक र रोजगार क्षेत्रमा सहजीकरण गर्ने उद्देश्यले निःशुल्क तयारी कक्षाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै, लोक सेवा आयोगले लिने नायब सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गर्न लागेको हो । निजामती सेवा अप्राविधिकतर्फका नायब सुब्वा, खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग पुग्ने उद्देश्यका साथ निःशुल्क कक्षा शुरु गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिएका छन् ।

“गाउँपालिकाले तयारी कक्षा सञ्चालन गर्न लागेको छ, पहिला प्रस्ताव आह्वान गर्छौँ, त्यसपछि कार्यविधि बनाएर युवाको मागबमोजिम लोकसेवा र शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उनले भने । सरकारी सेवामा प्रवेशका लागि सहयोगी बनाउन सकिनेछ भन्ने लागेर कक्षा सञ्चालन गरेको उनको भनाइ रहेको छ ।

उनका अनुसार गाउँपालिकाभित्र बसोबास गर्ने तथा निर्धारित योग्यता पुगेका इच्छुक व्यक्ति कक्षा लिन इच्छुक भएमा गाउँपालिकाको कार्यालयमा पुगेर निवेदन दिन सक्नेछन् भने युवामा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाकारुपमा स्थापित गराउन लोक सेवा तयारी कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताएका छन् ।

त्यसैगरी, लोक सेवा आयोगमा यस क्षेत्रका युवाको पहुँच र सहभागिता अझै पनि उल्लेख्यरुपमा हुन नसकेको भन्दै गाउँपालिकाले कक्षा सञ्चालन गर्न लागेको उनको भनाइ रहेको छ । “युवालाई स्वदेशमै बाँच्न सकिन्छ भन्ने मानसिकता बनाइ रोजगारी दिन सकेमा पालिकासँगै देश समृद्ध बन्न सक्छ, शिक्षित युवा बेरोजगार हुँदा विदेश पलायन दर दिनप्रतिदिन बढेको छ”, उनले भने ।

कक्षामा सहभागीलाई जिल्लाभित्र एवं बाहिर रहेका निजामती सेवामा आबद्ध एवं अनुभवी प्रशिक्षकबाट प्रशिक्षण दिइने समेत पालिकाले जनाएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?