Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु


पर्वत। सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ । शिक्षक तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्नका लागि पहिलो चरणमा १३ वटा विद्यालयमा यो कार्यक्रम थालिएको हो ।

उक्त कार्यक्रम लागू भएका विद्यालयका हरेक क्रियाकलापलाई ‘डिजिटल’ रूपमा व्यवस्थापन गर्नका लागि ‘कोड लजिक टेक्नोलोजिज’ ले तयार पारेको ‘स्मार्ट स्कुल’ ‘एप्लिकेशन’ को प्रयोगलाई विस्तार गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीका अनुसार शिवालय माध्यमिक विद्यालय कुश्मा, पाङधैरेनी माध्यमिक विद्यालय पाङ्मा, नारायण माध्यमिक विद्यालय कुश्मा, शिवालय माध्यमिक विद्यालय कुश्मा, सार्वजनिक माध्यमिक विद्यालय कटुवाचौपारी, जनक माध्यमिक विद्यालय थुम, काफलचौर माध्यमिक विद्यालय दुर्लुङमा यो कार्यक्रम लागू गरिएको हो ।

नुवार सुवेदीथर माध्यमिक विद्यालय पाङ, कालिका माध्यमिक विद्यालय खुर्कोट, मङ्गलोदय माध्यमिक विद्यालय चुवा, जनता सुदर्शन माध्यमिक विद्यालय ठूलीपोखरी, पञ्चाकोशी माध्यमिक विद्यालय आर्थर र विश्वज्योति माध्यमिक विद्यालय शिल्मीमा कार्यक्रम लागू गरिएको हो । तिवारीका अनुसार गत आर्थिक वर्षमा शिवालय माध्यमिक विद्यालय कुश्मा र पाङधैरेनी माध्यमिक विद्यालय पाङमा परीक्षणको रूपमा कार्यक्रम लागू गरिएकोमा यस वर्ष थप ११ विद्यालयमा कार्यक्रम लगेर १३ विद्यालयलाई प्रविधिमैत्री बनाइएको तिवारीको भनाइ रहेको छ ।

त्यस्तै, यस वर्ष झण्डै रु पाँच लाखको लागतमा ११ वटा विद्यालयमा लागू गरिएको विद्यालय ‘सफ्टवेयर’लाई विद्यालयहरूले प्रभावकारीरूपमा प्रयोग गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाएमा आगामी वर्षमा निरन्तरताका लागि आवश्यक पर्ने बजेटमा सघाउन सकिने नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीले जानकारी दिएका छन् । परीक्षणको रूपमा लागू गरिएका विद्यालयबाट सकारात्मक प्रतिक्रिया आएको र ती विद्यालयमा काम गर्नसमेत सहज भएपछि अन्य विद्यालयको मागअनुसार यस वर्ष धेरै विद्यालयमा योजना लागू गरिएको सुवेदीले बताए ।

कुश्माको पहिलो नगरसभाले शिक्षाका लागि रु एक करोड ४० लाख विनियोजन गरेको थियो भने पछि विस्तारै बजेट घट्दै गएकाले विद्यालयको मागअनुसार कार्यक्रम गर्न नसकिएको उनको भनाइ रहेको छ । अहिले रु ३० लाख बजेट रहेको छ । रकम अभाव भएकै कारण चाहेर पनि अरू विद्यालयमा यस वर्ष सहयोग गर्न नसकिने उनको भनाइ रहेको छ ।

सो कुश्मा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीका अनुसार करिब रु पाँच लाखको लागतमा नयाँ विद्यालयमा ‘सफ्टवेयर’ राखिएको हो । यसबाट विद्यार्थीको व्यवस्थापन तथा तथ्याङ्क, शिक्षक तथा कर्मचारीको तथ्याङ्क, परीक्षा सञ्चालन, लेखा प्रणालीको व्यवस्थापन, विद्यालयमा रहेका पूर्वाधारको एकीकृत तथ्याङ्क, भर्चुअलरूपमा सञ्चालन गरिने कक्षालगायतका विशेषता रहेकाले विद्यालयले यसबाट धेरै फाइदा लिन सक्ने उनको भनाइ छ ।

सो सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएका बेला प्रविधिमैत्री बनाउँदा विद्यार्थीको आकर्षण बढ्ने र शिक्षकलाई पनि गुणस्तरीय शिक्षा दिन सहज हुने शिक्षक दामोदर पौडेलले बताएका छन् ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?