Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण


२ चैत्र, कास्की । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा २४ वटा हातेट्र्याक्टर वितरण गरेको हो।

गाउँपालिकाको १ देखि १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा संलग्न सङ्घ संस्थाबाट प्रस्ताव आह्वान गरिएकामा ६१ जनाले माग गरेका थिए। पहिलो चरणमा ‘सात हर्सपावर’ का २४ वटा ट्र्याक्टर कृषकलाई उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरूङले जानकारी दिए।प्रति ट्र्याक्टर ५४ हजार मूल्यमा कृषकले ५० प्रतिशत साझेदारी गरेका छन्।

अध्यक्ष गुरुङका अनुसार कृषकको व्यावसायिक योजनाको मूल्याङ्कनका आधारमा थप १७ कृषकलाई दोस्रो चरणमा ट्र्याक्टर वितरणको योजना छ। जमीन खनजोतका लागि गोरू पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हातेट्र्याक्टरतर्फ आकर्षित छन्।

गाउँपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरूङले भने, ‘कृषि व्यवसायलाई समयानुकूल परिर्वतन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धिको योजना छ । समृृद्ध मादी निर्माणका लागि कृषि, पर्यटन, जलस्रोत, वन, पूर्वाधारसहित समन्यायिक समृद्धिलाई जोड दिएका छौँ।’

कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकीकरण, विशिष्टीकरण, व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने नीति गाउँपालिकाले लिएको बताइन्छ । हाते ट्र्याक्टरसहित थ्रेसर, असिना छेक्ने जाली, प्लाष्टिक टनेललगायतका कृषि औजार उपकरणमा अनुदान दिने कार्यक्रम कृषितर्फ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए।

‘असिना छेक्ने जाली कृषकलाई उपलब्ध गराइसकेका छौँ भने प्लाष्टिक टनेल प्रदान गर्न बोलपत्र आह्वानलगायतका प्रक्रिया अघि बढाएका छौँ, छिट्टै मागका आधारमा कृषकलाई उपलब्ध गराउने छौं,’ उनले भने।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?