Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

बर्दिबासामा सडक खाना महोत्सवको आयोजना


महोत्तरी। आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटेल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव-२०८० आयोजना गरेका छन् ।

त्यस्तै, होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव-सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरेका थिए । पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिएको छ भने विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग र अत्यन्त चल्तीको बिपी राजमार्ग (बर्दिबास–सिन्धुली–बनेपामार्ग) को सङ्गममै सुरु गरिएको महोत्सवले बर्दिबासको परिचय विस्तार, यहाँको पर्यटन पूर्वाधारबारे चासो र स्थानीय रैथाने परिकारबारे अभिरुचि बढाउन सहयोग पुग्ने आयोजक संस्थाको अपेक्षा रहेको छ । “मुख्य कुरा हाम्रा स्थानीय सम्भावनाबारे आम चासो बढाउने हो, चुरेकाछ अवस्थित बर्दिबास नगर क्षेत्रभित्रका पर्यटकीय सम्भावनाका क्षेत्रबारे खोजबिन गर्न महोत्सवले सघाउ पुर्‍याउने हाम्रो विश्वास छ”,सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्की भन्छन्, “महोत्सवमा हामीले पस्कने परिकार, तिनको मौलिक स्वाद र हाम्रो सेवाले खानपिन र बसोबासका लागि बर्दिबास उपयुक्त ठाउँ हो भन्ने सन्देश दिनसके हाम्रो अभिष्ट पूरा हुन्छ ।”

उक्त महोत्सवमा सिद्रा, घोङी, माछाको सुकुटी, सिस्नु, टिम्बुर, गुन्द्रुक, तामा, गेडागुडीलगायतका स्थानीय परिकार, छेनाको जिलेवी, विभिन्न मिष्टान्न परिकार, नेवारी खाजा सेट र अन्य मुलुकका लोकप्रिय परिकारका स्टल राखिएका छन् । सोमबारसम्म चल्ने महोत्सवमा व्यवसायीमात्र नभएर निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास–११ खयरमाराका होटेल म्यानेजमेन्ट तथा फुड एण्ड डेरी विषयका विद्यार्थी, नाथम बर्दिबास (नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान, बर्दिबास) र माध्यमिक विद्यालय बर्दिबास–८ हाथीलेटका होटेल व्यवस्थापन विषयका छात्रछात्राले छुट्टाछुट्टै कक्ष सञ्चालन गर्दै महोत्सव अवलोकनकर्तालाई नयाँ स्वाद चखाइरहेका छन् ।

सोे महोत्सवमा ५० कक्ष छन् । प्रत्येक कक्षले भिन्नभिन्न परिकार तयार गर्ने हुँदा कक्षपिच्छे अवलोकनकर्ताले भिन्न परिकार हेर्ने र चाख्ने अवसर पाएका छन् । महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मधेसको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिएको सङ्घका महासचिव नारायण घिमिरे बत्ताउँछन् । त्यस्तै, केही दिन पहिलेदेखि नै बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगर पत्रकार सञ्जाल महोत्तरीले बर्दिबासका पर्यटन गन्तव्य पहिल्याउन जनाउँदै पदयात्रा सुरु गरेका छन् ।

उक्त महोत्सवले पनि पदयात्राको उद्देश्यमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । यस महोत्सवमा पाहुनाले २० देखि ४० प्रतिशत छुटमा परिकारको स्वाद लिनसँगै विशिष्ट सांस्कृतिक कार्यक्रमको पनि मज्जा लिँदै छन् भने सो महोत्सवको आयोजनामा बर्दिबास नगर कार्यपालिकाको कार्यालयको साथ सहयोग प्राप्त भएको आयोजकले जनाएका छन् ।

करिब रु १५ लाखको लागतमा सुरु गरिएको महोत्सव ५० हजार मानिसले अवलोकन गर्ने आयोजक संस्थाको लक्ष्य रहेको छ भने सो सङ्घले तीन दिन बर्दिबासमै बसेर महोत्सवको आनन्द लिन सबैमा सार्वजनिक अपिल नै गरेको छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?