Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

उक्त बैठकको शून्य समयमा बोल्दै सांसद कुमार दसौदीले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन योग्य र क्षमतावान् व्यक्ति नियुक्ति गर्न सरकारसमक्ष माग गरेका छन् । सांसद खिमलाल देवकोटाले संसद्को डोमिन ‘पार्लेयमेन्ट डट जिओभी डट एनपी’ मा सुधार गर्न सुझाव समेत दिए । उनले सङ्घीय संसद् सचिवालयमा कर्मचारी अपुग रहेको भन्दै सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिलकुमारी रावल थापा (पार्वती) ले नेपालको प्रसिद्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको वाल्मीकि आश्रमको संरक्षण र सडक पहुँचका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले निर्माण सम्पन्न भएको त्रिवेणी नारायणी नदीको झोलुङ्गे पुल तत्काल सञ्चालनमा ल्याउन माग गरिन् ।

सांसद दीपा गुरुङले गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा परी ठूलो जनधनको क्षति भएको र पीडितको राहतका लागि देश तथा विदेशबाट आएको राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । त्यस्तै, भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिक जाडोबाट प्रभावित भइरहेको भन्दै पीडितलाई चाँडो राहतको व्यवस्था गर्न माग गरिन् ।

सांसद भैरवसुन्दर श्रेष्ठले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणका लागि लाभग्राहीले अझै रकम पाउन नसकेको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । त्यस्तै, सांसद डा. विमला राई पौड्यालले गत पुस १३ गते ललितपुरको ग्वार्कोमा प्रहरीसँगको झडपमा मृत्यु भएका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र साहको घटनाबारे सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

सांसद सिंहबहादुर विश्वकर्माले देशमा बढ्दो बेरोजगारीको समस्यासँगै दिनप्रतिदिन युवा जनशक्ति विदेश पलायन भइरहेको, बेपत्ता हुनेको सङ्ख्या बढिरहेको तथा सिन्धुपाल्चोकबाट मात्रै ७७ जना हराएको भनी निवेदन परेको भन्दै पीडितको खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?