Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

कृषि विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी बढे


चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक क्याम्पसमा यस वर्ष विद्यार्थी भर्ना भएका छन् । अध्ययनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको सङ्ख्या पहिलेको तुलनामा घट्दै गए पनि भर्ना हुने विद्यार्थीको सङ्ख्या भने बढेको हो ।

उक्त विश्वविद्यालयको आङ्गिक र सम्बन्धन पाएका क्याम्पसको सिट क्षमताभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षा दिने गर्दछन् भने तीमध्ये उत्तीर्ण सबैले पढ्न पाउँदैनन् । त्यस्तै, कृषि सङ्कायका डिन प्रा.डा अर्जुनकुमार श्रेष्ठका अनुसार चालु शैक्षिक सत्रमा केन्द्रीय क्याम्पस र आङ्गिक गरी नौवटा क्याम्पसमा पाँच सय ६० जना विद्यार्थी भर्ना भएका छन् भने गत शैक्षिक सत्रमा यो सङ्ख्या चार सय २६ जना मात्रै थियो ।

त्यस्तै, केन्द्रीय क्याम्पस रामपुरमा एक सय ६२ जनाको कोटा निर्धारण गरिएको छ । सिन्धुलीको मरिन, महोत्तरीको बर्दिबास, धनकुटाको पाख्रीबास, कास्कीको पुरनचौर, कैलालीको टीकापुर र दैलेखको दुल्लुमा रहेका आङ्गिक क्याम्पसमा ५४–५४ जनाको कोटा छ भने रोल्पाको मणिचौर र बाँकेको खजुरामा ४९–४९ कोटा छ ।

विश्वविद्यालयको दैलेखको दुल्लुस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गत वर्ष विद्यार्थी शून्य भएका थिए । यस वर्ष ३० जना विद्यार्थी भर्ना भएका छन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिनबाहेक आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी भर्ना भएका थिए । यस वर्ष भने दुल्लुबाहेक सबै आङ्गिक क्याम्पसमा कोटाअनुसार विद्यार्थी भर्ना भएको उनले जानकारी दिएका छन् ।

त्यसैगरी, सम्बन्धन प्राप्त निजी क्याम्पस पूर्वाञ्चल कृषि क्याम्पस, नीतिका कृषि सहकारी संस्था इटहरी, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल कलेज नवलपरासी, भ्याली कृषि क्याम्पस ललितपुर, गोरखा पोलिटेक्निक एन्ड रिसर्च सेन्टर कोहलपुर बाँके र ब्राइट मध्यपश्चिम कृषि कलेज सुर्खेतमा ५०–५० जनाको कोटा रहेको छ ।

गत शैक्षिक सत्रमा ती क्याम्पसमा विद्यार्थी भर्ना नभए पनि यस वर्ष केही क्याम्पसमा विद्यार्थी भर्ना भएको श्रेष्ठले जानकारी दिएका छन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए भने पछिल्ला वर्षमा क्रमशः घट्दै गएर यस वर्ष एक हजार तीन सय ६५ जनाले मात्रै आवेदन दिएका थिए । तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका थिए । तीनै विद्यार्थी क्याम्पसमा भर्ना भएका हुन् ।

त्यस्तै, गत शैक्षिक सत्रमा एक हजार पाँच सय २३ जनाले आवेदन दिएकामा सात सय ५३ जनामात्र उत्तीर्ण भएका थिए । त्यसको अघिल्लो वर्ष उत्तीर्ण हुनेको सङ्ख्या आठ सय थियो भने एक हजार सात सयजनाले आवेदन दिएका थिए । यसको तुलनामा चालु शैक्षिक सत्रमा विद्यार्थी धेरै उत्तीर्ण भएका हुन् ।

सात विश्वविद्यालयका ३५ वटा क्याम्पसले कृषि स्नातक पढाउँदै आएका छन् । तीमध्ये १६ वटा क्याम्पस कृषि विश्वविद्यालयका हुन् भने अन्य क्याम्पस अरू विश्वविद्यालयका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा पुण्यप्रसाद रेग्मीले विद्यार्थी बढ्ने गरी नीतिगतरुपमा विश्वविद्यालयले सुधारका काम गरेकाले कृषि पढ्ने विद्यार्थीको सङ्ख्या बढेको बताए ।

समयमा प्रवेश परीक्षा हुनु, विश्वविद्यालयको सकारात्मक प्रचार हुनु पनि विद्यार्थी बढ्नाका कारण रहेको उनले बताएका छन् । त्यस्तै, पाठ्यक्रम पुरानो भएकाले संशोधन गरेर यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ सुरु गरिएसँगै विद्यार्थीको आकर्षण बढ्न थालेको उनले बताए । शैक्षिक क्यालेन्डरअनुसार सबै सङ्कायको पढाइ र परीक्षा एउटै समयमा हुन थालेको उनले बताए ।उक्त विश्वविद्यालयमा हुने गरेका हडतालमा समेत कमी आएपछि विद्यार्थी भर्ना हुने दर बढेको जनाइएको छ ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?