Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

स्याङ्जाको एउटै वडाबाट बिक्री भयो ११ करोडको सुन्तला


वालिङ,स्याङ्जा। स्याङ्जाको भिरकोट नगरपालिका-७ मा यस वर्ष ११ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ। बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।

त्यस्तै, भिरकोट-७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताएका छन्। करिब एक सय घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले जानकारी दिएका छन्।

यस वडाका अधिकांश किसान व्यावसायिकरूपमा सुन्तला खेतीमा आबद्ध हुनुहुन्छ,’ अध्यक्ष अर्यालले भने, ‘यहाँ यस वर्ष सबैभन्दा थोरैमा रु ५० हजारदेखि लिएर धेरैमा रु ३० लाखसम्म आम्दानी गरेका छन्।’

त्यसैगरी, तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए। सुरुमा प्रतिकेजी रु ४० मा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी रु ७० का दरले बिक्री भएको जनाइएको छ । “यहाँ उत्पादन भएका सुन्तला किसान आफैँले बिक्री गर्ने, बगैँचा नै ठेक्का दिने वा तौलेर अन्यत्र पठाउने गरिन्छ,’ उनले भने, ‘विशेषगरी यहाँका सुन्तला काठमाडौं, पोखरा, नारायणगढ, बुटवलजस्ता सहरमा जाने गरेको छ।’

स्थानीय व्यापारी तथा काठमाडौंबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् भने कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन्।

‘गत वर्ष यस वडामा सुन्तला बिक्रीबाट करिब रु १५ करोड भित्रिएको थियो,’ उनले भने, ‘गत वर्षजस्तो यस वर्ष उत्पादन भएन यसकारण आम्दानी पनि घट्न पुग्यो, आगामी वर्ष नयाँ बोट तयार हुने भएकाले उत्पादन बढ्छ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्याङ्की, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए। नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष थप पाँच–छ करोड बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रिने दाबी उनको छ।

कोदोखेती गर्दै आएका बारीमा अहिले सुन्तलाका बोट देख्न सकिन्छ। सुन्तला खेतीबाट आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् । गत वर्ष स्याङ्जामा सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी पनि केही घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?