Trending
>>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने >>   अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो >>   पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा >>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

आइसीसी लिग–२ : पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको सहज जित


२९ फागुन, काठमाडाैँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल नौ विकेटले जितेको छ । पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य सात दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले बिष्फोटक ब्याटिङ गरे । दुवै जनाबीच ५१ रनको साझेदारी रह्यो । शेखले २१ बल खेल्दै तीन छक्का र आठ चौकाको मद्दतमा अविजित ५३ रन बनाए । यस्तै भुर्तेलले १४ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरी ३३ रन बनाए । कुशल मल्लले अविजित रहँदै १२ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र एक चौका हाने । बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए । पपुवा न्युगिनीले सुरुआतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चाल्र्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गरे । तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । लामिछानेले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चे । यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

नेपालले जारी शृङ्खलामा अब आफ्नो अन्तिम खेलमा बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई) सित खेल्नेछ ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?