Trending
>>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

आइसीसी लिग–२ : पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको सहज जित


२९ फागुन, काठमाडाैँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल नौ विकेटले जितेको छ । पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य सात दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले बिष्फोटक ब्याटिङ गरे । दुवै जनाबीच ५१ रनको साझेदारी रह्यो । शेखले २१ बल खेल्दै तीन छक्का र आठ चौकाको मद्दतमा अविजित ५३ रन बनाए । यस्तै भुर्तेलले १४ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरी ३३ रन बनाए । कुशल मल्लले अविजित रहँदै १२ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र एक चौका हाने । बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए । पपुवा न्युगिनीले सुरुआतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चाल्र्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गरे । तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । लामिछानेले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चे । यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

नेपालले जारी शृङ्खलामा अब आफ्नो अन्तिम खेलमा बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई) सित खेल्नेछ ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?