Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने


मकवानपुर। कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ ।

आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले आज कुरा गर्दै उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिएका छन् ।

उक्त उद्योगलाई आवश्यक पर्ने कोइला आपूर्ति गर्नका लागि अनुदान उपलब्ध गराउन अनुरोध गरिएको जनाउँदै उहाँले माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए । उद्योगले सिमेन्ट उत्पादन गर्न आर्थिक सङ्कटका कारण कठिनाइ व्यहोर्नु परिरहेको छ । उक्त उद्योग व्यवस्थापनले अहिले पर्याप्त आर्थिक स्रोत जुटाउने प्रयास गर्दागर्दै पनि तत्काल स्रोत जुटाउन नसक्दा बोलपत्र आह्वानमार्फत कोइला खरिद गरी ल्याउने कार्यमा अहिले अवरोध उत्पन्न भएको जनाएको छ ।

सो उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिएका छन् । उनका अनुसार अहिले उद्योगको भण्डारणमा करिब छ सय मेट्रिक टन मात्रै कोइला रहेको छ । उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल विभिन्न सहरमा बिक्री हुन नसकेकाले आर्थिक सङ्कट आइपरेको कर्णले बताए ।

त्यस्तै, सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेशप्रसाद रिजालले केही दिनअघि उद्योगको आकस्मिक अनुगमन गरी के–कति कारणले आर्थिक सङ्कट आइपरेको अवलोकन गरेका थिए । उनले जीर्ण भएका उपकरणलाई तत्कालै मर्मतसम्भार गरी सञ्चालन गर्ने विषयमा पनि जानकारी लिएका थिए । त्यस अवसरमा मन्त्री रिजालले उद्योगलाई यथाशीघ्र सञ्चालनमा ल्याउन प्रधानमन्त्री र आफ्नो मन्त्रालयले सक्दो अनुदानको व्यवस्था गराउनेतर्फ पनि विचारविमर्श भइरहेको जानकारी दिनुभएको नायब महाप्रबन्धक कर्णले बताएका छन् ।

उक्त उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने दैनिक १६ हजार बोरा लक्ष्य रहेको भए पनि अहिले विभिन्न उपकरण जीर्ण भइसकेकाले दैनिक १० हजार बोरा मात्रै उत्पादन गर्ने गरिएको जानकारी दिए । विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योग स्थापना गरिएकामा विसं २०४३ मङ्सिर २६ देखि व्यावसायिकरूपमा उत्पादन गरी काठमाडौंलगायत विभिन्न सहरमा बिक्री वितरण भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

तत्कालीन श्री ५ को सरकारको रु एक अर्ब २६ करोड लगानीमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । अहिले उद्योगमा प्रशासन, लेखा र मजदुर गरी एक सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विभिन्न मेसिन तथा उपकरणलाई मर्मतसम्भार गरी नयाँ प्रकृतिबाट सञ्चालनमा ल्याएमात्रै हेटौँडा सिमेन्ट उद्योगलाई आर्थिक सङ्कटमुक्त बनाउन सकिने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताएका छन् ।

 


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?