Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण


म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ ।

बेनी-४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी-४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताएका छन् ।

‘बेनी -३ को मरेक, राखु, वडा नम्बर-४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट चार सय क्रेट सुन्तला सङ्कलन गरेर राखेका छौँ’, उनले भने, ‘सुन्तलापछि जिल्ला भरका कृषकले उत्पादन गरेको आलुलगायत कृषि उपज भण्डारण गर्ने तयारी गरेका छौँ ।’

उक्त नगरपालिकाले क्रेट र कृषकले सुन्तला उपलब्ध गराएका छन् भने चिस्यान गृहमा राखेको सुन्तला अगामी फागुन चैत महिनाको बेमौसममा बजारमा पठाएर बढी मूल्य पार्न सकिने वडाध्यक्ष खड्काले बताए । कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले गत असोजमा चिस्यान गृह निर्माण सम्पन्न गरेको थियो ।

त्यस्तै, रु एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ लागत अनुमान गरिएको चिस्यान गृह बनाउन राजेशबाबु निर्माण सेवा जाजरकोटसँग रु एक करोड ५१ लख २० हजार सात सय ३८ मा २०७९ फागुन तेस्रो साता सम्झौता भएको थियो । तापक्रमलाई सन्तुलित बनाइराख्ने उपकरण र संरचना भएको सो चिस्यान गृहको क्षमता तीन सय मेट्रिक टन रहेको छ भने सो नगर र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा चिस्यान गृह सहयोगी बन्ने अपेक्षा गरिएको छ ।

तीन वर्षअघि बेनी नगरपालिकालाई चिस्यान गृह बनाउन सङ्घीय सरकारबाट बजेट विनियोजन भए पनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन । चिस्यान गृह बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिने कृषकसमेत रहेका वडासदस्य सन्दीप खत्रीले बताएका छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ झिँमा २० मेट्रिक टन र वडा नम्बर २ भगवतीमा २५ मेट्रिक टन क्षमताको चिस्यान गृह निर्माण भएको छ । झिँमा रु २१ लाख ७८ हजारको लागतमा चिस्यान गृह निर्माण भएको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए।

त्यस्तै, भगवतीको चिस्यान गृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले करबाहेक रु ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो । दुई वटै चिस्यान गृह प्रयोगमा भने आएका छैनन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा बेनी-९ बियाडामा पाँच हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको छ । यसअघि गत वर्ष अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?