Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

खोटाङमा भूमिहीनलाई निस्सा वितरण


खोटाङ। खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेका निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिएलगत्तै निस्सा वितरणको काम थालिएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, लफ्याङ र सोल्माका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी गरी ६ जनालाई निस्सा वितरण गरेको छ ।त्यस्तै, पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढीमा ५१ भूमिहीन सुकुम्बासी, १६ भूमिहीन दलित र दुई सय अव्यवस्थित बसोबासी छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सात सय ९२ जना लाभग्राही रहेको राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेश राईले जानकारी दिए ।

“निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नापजाँच गरेर पुर्जा वितरण गरिनेछ”, उनले भने, “निस्सा वितरण गरेपछि वडा कार्यालयले सातदिने दाबी–विरोधसम्बन्धी सूचना जारी गर्छ । कसैको पनि दाबी विरोध नभए पुर्जा वितरण थालिनेछ ।”

जिल्लाभर एक सय ५२ भूमिहीन सुकुम्बासी, ४९ भूमिहीन दलित र पाँच सय ९१ अव्यवस्थित बसोबासी छन् भने खोटेहाङ, जन्तेढुङ्गा, बाराहापोखरी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लाभग्राहीको नाममा जग्गा छ÷छैन भनी जग्गा प्रमाणीकरणको काम सम्पन्न गरिसकेको अध्यक्ष राईले बताए ।

उक्त, खोटेहाङमा आठ भूमिहीन सुकुम्बासी, पाँच भूमिहीन दलित र १० अव्यवस्थित बसोबासी, केपिलासगढीमा ६ भूमिहीन दलित र ६ अव्यवस्थित बसोबासी, जन्तेढुङ्गामा १५ भूमिहीन सुकुम्बासी र ३१ अव्यवस्थित बसोबासी, हलेसी तुवाचुङमा १४ भूमिहीन सुकुम्बासी, आठ भूमिहीन दलित र एक सय ४० अव्यवस्थित बसोबासी तथा बाराहापोखरीमा १८ भूमिहीन सुकुम्बासी र ३७ अव्यवस्थित बसोबासी रहेका छन् ।

त्यस्तै रावाबेँसी गाउँपालिकामा १५ भूमिहीन सुकुम्बासी र ४२ अव्यवस्थित बसोबासी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १९ भूमिहीन सुकुम्बासी, चार भूमिहीन दलित र ५२ अव्यवस्थित बसोबासी, एँेसेलुखर्कमा ६ भूमिहीन सुकुम्बासी र चार भूमिहीन दलित तथा साकेला गाउँपालिकामा ६ भूमिहीन सुकुमबासी, ६ भूमिहीन दलित र ७३ अव्यवस्थित बसोबासी छन्।

खोटेहाङले सम्पूर्ण वडामा लाभग्राहीलाई निस्सा वितरण गरेर सातदिने दाबी विरोधसम्बन्धीको सूचना जारी गरेको छ । उक्त भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिबापत राजस्व नलाग्ने तर अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको आयोगले जनाएको छ ।

भूमिहीन दलित र सुकुम्बासीका लागि हिमाल र पहाडमा आवास निर्माणका लागि १० आना दुई पैसा तथा खेतीपाती गर्न पाँच रोपनी १४ आना एक पैसा जग्गा उपलब्ध गराइने आयोगले जनाएको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?