Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

म्याग्दीमा खेलमैदान बनाउन श्रमदान अभियान


म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेल मैदानलाई स्तरोन्नति गरी प्रयोगयोग्य बनाउन श्रमदान अभियान सञ्चालन गरिएको हो ।

त्यस्तै, जनप्रतिनिधि, स्थानीय, खेलाडी र विद्यार्थीले श्रमदान गरेर खेलमैदान स्तरोन्नति गर्न लागिएको मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए । “चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा आउन सकेको थिएन्”, उनले भने, “यही पुस १५ गतेदेखि सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता यही खेलमैदानमा सञ्चालन गर्ने योजनाअनुसार श्रमदान अभियान चलाइएको हो ।”

त्यसैगरी, पुस १ गतेदेखि सुरु भएको श्रमदान अभियान पुस १२ गतेसम्म चल्ने बताइएको छ भने उक्त गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गरेको छ । खेलमैदानमा रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न श्रमदान अभियान चलाइएको हो । स-साना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाउन लागिएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका संयोजकसमेत रहेका मङ्गला–१ का वडाध्यक्ष एकजित रोकाले बताएका छन् ।

त्यस्तै, युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जना स्थानीय श्रमदान अभियानमा सहभागी भएका छन् भने बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका छन् । खेलमैदान स्तरोन्नति र व्यवस्थित गर्न समुदाय तहबाट भएको सहभागिताले उत्साहित बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेलले बताए । सात दिनको अवधिमा खेलमैदानले स्वरुप लिएको छ ।

गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख बजेटबाट विसं २०७६ मा एक सय २० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो । खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० मिटर लामो ग्याबिन पर्खाल निर्माण गरिएको स्थानीय युवा श्यामसुन्दर कँडेलले बताए ।

उक्त गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायक पर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ भने व्यवस्थित खेलमैदान अभावमा खेलकूद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो ।

सो गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताउदै कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना समेत रहेको बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?