Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

म्याग्दीमा खेलमैदान बनाउन श्रमदान अभियान


म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेल मैदानलाई स्तरोन्नति गरी प्रयोगयोग्य बनाउन श्रमदान अभियान सञ्चालन गरिएको हो ।

त्यस्तै, जनप्रतिनिधि, स्थानीय, खेलाडी र विद्यार्थीले श्रमदान गरेर खेलमैदान स्तरोन्नति गर्न लागिएको मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए । “चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा आउन सकेको थिएन्”, उनले भने, “यही पुस १५ गतेदेखि सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता यही खेलमैदानमा सञ्चालन गर्ने योजनाअनुसार श्रमदान अभियान चलाइएको हो ।”

त्यसैगरी, पुस १ गतेदेखि सुरु भएको श्रमदान अभियान पुस १२ गतेसम्म चल्ने बताइएको छ भने उक्त गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गरेको छ । खेलमैदानमा रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न श्रमदान अभियान चलाइएको हो । स-साना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाउन लागिएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका संयोजकसमेत रहेका मङ्गला–१ का वडाध्यक्ष एकजित रोकाले बताएका छन् ।

त्यस्तै, युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जना स्थानीय श्रमदान अभियानमा सहभागी भएका छन् भने बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका छन् । खेलमैदान स्तरोन्नति र व्यवस्थित गर्न समुदाय तहबाट भएको सहभागिताले उत्साहित बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेलले बताए । सात दिनको अवधिमा खेलमैदानले स्वरुप लिएको छ ।

गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख बजेटबाट विसं २०७६ मा एक सय २० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो । खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० मिटर लामो ग्याबिन पर्खाल निर्माण गरिएको स्थानीय युवा श्यामसुन्दर कँडेलले बताए ।

उक्त गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायक पर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ भने व्यवस्थित खेलमैदान अभावमा खेलकूद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो ।

सो गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताउदै कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना समेत रहेको बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?