वालिङ,स्याङ्जा। कुनै बेला वालिङ नगरपालिका–५ पाँडेथोकका अधिकांश किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि समस्या रहे पनि अहिले सडक पुगेपछि सहज भएको छ ।
उक्त गाउँमा उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल डोकामा बोकेर वालिङ बजार लैजानुपर्ने बाध्यता थियो । कृषि उपजको बजारीकरणका लागि गाउँमै बिना विद्युतीय रोपवे (ग्राभिटी रोपवे) समेत निर्माण भई सञ्चालनमा आयो । सडकको पहुँच गाउँसम्म पुग्न नसकिरहेका बेला ग्राभिटी रोपवेमार्फत कृषि उपजको ढुवानी गर्दा प्रभावकारी भएको थियो भने विस्तारै सडकको पहुँच गाउँमा पुगेपछि अहिले सवारीसाधनमार्फत नै ढुवानी गर्न थालिएको स्थानीय अगुवा कृषक यज्ञप्रसाद लामिछानेले बताए ।
“डोकोमा बोकेर वालिङ, मिर्दी, रामबाच्छा, भकुण्डेलगायतका बजारमा तरकारी पुर्याउनुपथ्र्यो”, उनले भने, “रोपवे सञ्चालनमा आएपछि डोकोमा बोकेर जानुपर्ने अवस्था हट्यो ।” अहिले गाउँबाट बिहानमा बजार झर्ने गाडीमार्फत सिधै उपभोक्ता वा व्यापारीकामा कृषि उपज पठाउन थालिएको उनले बताए । गाउँबाट बजार झर्ने जिपले गाउँमा उत्पादन भएका कृषि उपज ढुवानी गर्दै आएका छन् ।
“गाउँमा व्यावसायिकरूपमा तरकारी तथा फलफूल उत्पादन गर्ने किसानले बजार पठाउने तरकारी तथा फलफूल क्यारेटमा तयारी बनाएर राख्छौँ”, उनले भने, “गाउँबाट दैनिक तीन–चारवटा जिप बजार झर्छन् तिनैमार्फत सम्बन्धित उपभोक्ता तथा व्यापारीकामा पठाउने गरेका छौँ ।”
त्यस्तै, कतिपय ठाउँमा गाउँबाट बजार झर्दा सवारी साधन रित्तै जाने र फर्किँदा बजारबाट सामान लिएर फर्किने देखिएको तर यहाँ ठीकविपरीत भएको वडा नं ५ का वडा सदस्य रामप्रसाद लामिछानेले बताए । “पाँडेथोक, पित्लेक, आरुपाटा, पाखुरेलगायतका गाउँ मौसमी तथा बेमौसमी तरकारी, फलफूल उत्पादनका दृष्टिले पकेट क्षेत्र हो”, उनले भने, “अहिले यहाँ उत्पादन भएका कृषि उपजको बजारीकरणको कुनै समस्या छैन ।”
त्यस्तै, गाउँबाट बजार जाने जिपहरूले झट्ट हेर्दा ‘कृषि एम्बुलेन्स’को काम गरिरहेको उनले बताए । किसानले घरमा तयारी अवस्थामा राखेको कृषि उपज गाउँबाट बजार झर्ने जिपचालक तथा कर्मचारीले जिपमा राखेर सम्बन्धित ठाउँमा पुर्याएबापत प्रतिकिलो रु दुई भाडा दिने गरिएको छ ।
“किसानले सिधै व्यापारी वा उपभोक्तालाई सम्पर्क गरी दिन पनि पाउँछन् भने सवारीधनीलाई दिए पनि उनीहरूले बजार लगेर बिक्री गरेपश्चात साँझ क्यारेट र पैसा घरमै ल्याइदिन्छन्”, उनले भने, “वालिङ नगरभित्रका वालिङ बजार, मिर्दी, भकुण्डे, भुम्रे, रामबाच्छासम्म लगेर बिक्री गरेको प्रतिकिलो रु दुई र त्यहाँभन्दा बाहिर लगेर बिक्री गरेमा थप भाडा किसानले दिने गरी व्यवस्थापन गरिएको छ ।”
किसानले बिक्री गर्न आफैँ बजार जानु नपर्ने भएकाले पनि समयको बचत भएको जनकल्याण कृषि सहकारी संस्थाका व्यवस्थापक हुमनाथ लामिछानेले बताए । गाउँमा एक सय ४२ घरधुरीमध्ये ७२ घरधुरीमा व्यावसायिकरूपमा तरकारी तथा फलफूल गर्दै आइरहेका छन् ।
त्यसैगरी, सवारीधनीहरूको सहयोगमा गाउँमा उत्पादन भएको कृषि उपजले सहजरूपमा बजार पाएको हो । सवारीधनीले गाउँका प्रत्येक घरबाट उत्पादित कृषि उपज सङ्कलन गरी दैनिक बजार लैजाने र बेलुकी रकम र क्यारेट घरमै फिर्ता गरिदिने भएकाले किसानलाई निकै सहज भएको व्यवस्थापक लामिछाने बताउछन् ।
यहाँ मौसमी तथा बेमौसमी गोलभेँडा, काउली, बन्दा, सिमी, बोडा, काक्रा, करेला तथा सुन्तला, कागती ठूलो परिमाणमा उत्पादन हुने गरेको छ भने तरकारी तथा फलफूल बिक्रीबाट यस गाउँमा मात्रै बर्सेनि करोडौँ रकम भित्रिने गरेको छ ।
प्रकाशित मिति: ४ पुष २०८०, बुधबार