Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू


४ ,पुष ,फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनि काममै व्यस्त छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् ।

दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनि बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । उनले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गरेका छन् । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आएका छन् ।

चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती सुरु गर्नुभएका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ । उहाँको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सयवटा ड्रागन फलका बोट छन् । सबै बोटले उत्पादनसमेत दिन थालेका छन् ।

‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी रु दुई लाखको लगानीमा ड्रागन फलको खेती सुरु गरेका हुन् । उनलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैनजस्तो लागेको थियो । बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो । तर अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै बिक्री हुन थालेपछि उनि हर्षित छन् ।

उनले फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आउनुभएको छ । उनले यो वर्ष मात्र रु दुई लाख १० हजार आम्दानी गरेका छन् । फल बिक्री गरेर रु एक लाख ३० हजार र बिरुवा बिक्री गरेर रु ८० हजार आम्दानी गरेको उनले बताए ।

“जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु । आम्दानीसमेत राम्रै हुँदो रहेछ”, सदस्य लिम्बूले भने, “वार्षिक रुपमा रु दुई लाख बढी आम्दानी हुने रहेछ । यसैले नानीहरु पढाउन र घरखर्च चलाउन मज्जाले पुगेको छु ।”

उनले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्राजतिको खेती गर्न एकैपटक चार सय बिरुवा रोप्नुभएको थियो । उहाँले पैसा कमाउन विदेश जानैपर्ने बाध्यता नरहेको बताए ।

“युवामा पैसा कमाउनकै लागि विदेश जानु पर्दैन । आफैँ लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ । यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ”, उनले भने ।

लिम्बूले उत्पादन गर्नुभएको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै बिक्री गरेको छ । सरदरमा प्रतिकेजी रु चार सयदेखि पाँच सयमा बिक्री हुने उनले बताए । विरुवा भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको छ । बिरुवा पनि प्रतिगोटा रु दुई सय ५०सम्ममा बिक्री हुने गर्दछ । लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

ड्रागन फुड फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ । टिपेर राख्दा १०/१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रुपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । ड्रागन फ्रुड रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

जग्गामा ड्राङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फुड पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ ।

एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ ।

ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ ।

यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँ तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने विज्ञहरुको निष्कर्ष छ ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?