Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

गाउँपालिकाको शिक्षा सुधार कोषमा रु २० लाख सङ्कलन


२९ ,मङ्सिर ,दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको शिक्षा सुधार कोषमा रु २० लाख बढी सङ्कलन भएको छ । गाउँपालिकाले शिक्षा सुधारका लागि सुरु गरेको शिक्षा सुधार कोषमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिबाट उक्त रकम सङ्कलन भएको हो ।

गाउँपालिकाभित्र सञ्चालित उद्योग, विभिन्न सहकारी, टोल सुधार समिति, सङ्घ संस्थाले पालिकाको उक्त अभियानमा हातेमालो गर्दै सहयोग गरेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको आह्वान अनुसार सहयोग जुट्ने क्रम जारी छ ।

उक्त कोषमा एकैदिन साँढे छ लाख सहयोग प्राप्त भएको छ । गाउँपालिकामा रहेका विभिन्न उद्योगले शिक्षा सुधार कोषमा रु छ लाख ५० हजार सहयोग गरेका हुन् । आँबुखैरेनी गाउँपालिका–२ स्थित अभनिष डिष्टिलरी प्रालिले रु तीन लाख, सूर्य ब्लेन्डर्स प्रालिले रु एक लाख, मकालु डिष्टिलरी प्रालिले रु एक लाख ५० हजार र तिरुमाला प्लास्टिक इण्डष्ट्रिजले रु एक लाख सहयोग गरेको छ ।

गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार कार्यक्रमलाई थप टेवा पुर्याउने उद्देश्यसहित शैक्षिक क्षेत्रमा गरेको सहयोगप्रति गाउँपालिकाका अध्यक्ष चुमानले धन्यवाद ज्ञापन गर्नुभएको छ । अध्यक्ष चुमानले भने, “हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्न योजनासहित अगाडि बढेका छौँ । त्यसका लागि हातेमालो गरेर यहाँका सङ्घ संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको छ ।”

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुआत गरेको छ । गाउँपालिकाले रुप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार वटा विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिए ।

चुमानले भने, “हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ ।”

रुप फेर्ने योजनाअन्तर्गत बाल विकासदेखि कक्षा ५ सम्मका सबै छात्रछात्रालाई निःशुल्क ट्र्याकसुट, झोला, जुत्ता मोजा तथा टिसर्ट वितरण गरिएको छ । गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी मावि र मस्र्याङ्दी आधारभूत विद्यालयमा पुराना डेस्क बेन्च हटाएर नयाँ व्यवस्था गरेको छ ।

शैक्षिक सुधार अभियान अन्तर्गत विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क बेन्च फेर्ने, नर्सरीदेखि कक्षा दुईसम्म स्मार्ट टिभी राखी सिकाइ सहज गर्ने र केही विद्यालयमा बस प्रदान गर्ने योजना छ ।

उनले भने, “कतिपय विद्यालयका विद्यार्थी विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ, त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ । त्यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन् ।”

सिकाइ गुणस्तर योजना अन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीको वार्षिक मूल्याङ्कन शिक्षण प्रतिवेदन अनुसार समस्याको पहिचान गरी समाधान तर्फ पहल गरिन उनले बताए । विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालन गर्ने योजना रहेको चुमानको भनाइ छ ।

प्रोत्साहन योजनाअन्तर्गत जनप्रतिनिधिको छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने निर्णय कार्यान्वयनमा आएको छ । “सामुदायिक विद्यालयमा अपनत्व बढाउने गरी सो निर्णय कार्यान्वयनमा आएको छ,” उनले भने, “जनप्रतिनिधिका छोराछोरी निजी विद्यालयमा पढाउने अनि सामुदायिक विद्यालय गुणस्तरको कुरा गर्न सुहाउँदैन ।”

आँबुखैरेनी गाउँपालिकाका–६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याउन लागेको चुमानले बताए । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उनले बताए ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?