Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कर्मचारी समायोजनका लागि निधीले थाले सरकारसँग ‘लबिइङ’


काठमाडौं। कांग्रेस नेता विमलेन्द्र निधिले प्रहरी समायोजन र कर्मचारी प्रशासनको व्यवस्थापनसँग सम्बन्धित कानुन तत्काल ल्याएर प्रदेशलाई अधिकार सम्पन्न बनाउन सरकारसँग ‘लबिइङ’ थालेका छन् । अध्यादेश ल्याएर भए पनि सङ्घीयता कार्यान्वयनका लागि देखिएको बाधा फुकाउन उनले आग्रह गरेका हुन् ।

संविधान जारी भएको आठ वर्षको अवधिमा दुई पटक निर्वाचन भएर तीन तहका सरकार बन्दा पनि प्रहरी र निजामती कर्मचारी व्यवस्थापनमा आवश्यक संघीय कानुन नभएकाले प्रदेशले संविधानबमोजिम पाएको एकल अधिकारको प्रयोग गर्न पाएका छैनन् भने सङ्घीयता कार्यान्वयनमा देखिएका बाधा फुकाउने विषयमा निधिले पार्टी बैठकमा प्रस्ताव लैजाने बताए ।

महासमिति बैठकको तयारीलाई लिएर शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ भने सो महासमितिमा यसलाई मुख्य एजेन्डा बनाउने विषयमा बैठकमा छलफल गरिने निधिले बताएका छन् ।

‘केन्द्रले कानुन नबनाइदिएकै कारण संविधानबमोजिम सातवटै प्रदेशले संघीय मर्मबमोजिमका काम गर्न पाएका छैनन् । शान्ति प्रक्रियाको बाँकी काम पूरा नभएजस्तै सङ्घीयता कार्यान्वयन पनि बाँकी छ । यसलाई पूरा गर्न नसक्दा अहिले प्रश्नहरू उठ्न थालेका हुन्,’ निधिले भने, ‘यसमा सरकार बढी गम्भीर बन्नुपर्छ ।’

त्यसैगरी, सातवटै संघीय प्रदेशका सरकार प्रमुखहरूले पनि संघीय कानुन बनाउन जोड दिँदै आएका छन् । मधेश सरकारले एक महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै प्रहरी समायोजन र निजामती कर्मचारी व्यवस्थापनसहितका माग राखेर ३० दिनको अल्टिमेटम दिएको थियो ।

निजामतीसँग सम्बन्धित संघीय कानुन नहुँदा प्रदेशमा रिक्त दरबन्दीमा कर्मचारी राख्नसमेत केन्द्रको मुख ताक्नुपर्ने अवस्था छ । प्रहरी समायोजनका लागि आवश्यक प्रहरी समायोजन ऐन र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन चार वर्षअघि नै बनिसकेका छन्, तर संघीय प्रहरी ऐन नबन्दा संसद्बाट पारित भएर राष्ट्रपतिबाट लालमोहर लागिसकेका समायोजनसँग सम्बन्धित दुई कानुन कार्यान्वयनमा आएका छैनन् ।

निधिले भने- ‘सङ्घीयतालाई पूर्ण कार्यान्वयनमा लैजान महासमिति बैठकमा मूल एजेन्डा बन्नुपर्छ । मूल एजेन्डा नै सङ्घीयता कार्यान्वयनको मुद्दा हुनुपर्छ भन्ने मान्यताका साथ म प्रस्ताव लैजाँदै छु,’


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?