Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’


कैलाली। दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो । श्रीमान् गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छिन् । छ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैँ छटपटी हुन्छ ।

“एउटा घटना जुन नहुनु थियो त्यो भयो । त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन”, मञ्जुले भनिन्, “छोराछोरीको भविष्यको चिन्ताले सताउँछ । बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन ।” आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यका बारेमा हुने चिन्ता कम हुने उनी बताउछिन् ।

“राज्यले क्षमताअनुसारको रोजगारी दिएको भए मन भुलाउने बाटो हुन्थ्यो । त्यो घटना बिर्सने आधार बन्थ्यो”, मञ्जु भन्छिन्, “रकम पाएर र सान्त्वनाले मन भुलाउन गाह्रो छ । छोराछोरीको शिक्षा तथा रोजगारीका लागि सरकारसँग आश गरेकी छु ।”

सो इजरायल घटनामै सुनसरीका राजेश स्वर्णकारको पनि ज्यान गयो । उनको परिवारलाई पनि पीडा भुलाउन मश्किल भएको छ । “खाइनखाइ गरेर बुढेसकालको सहारा होला भनेर छोरा पढाए, छोरो सधैँका लागि बिदा भएर गयो । अब बुढेसकालको सहारा कहाँ गएर खोजौँ ?”, राजेशकी आमा कैलाशदेवी स्वर्णकार भन्छिन्, “राज्यले परिवारको एउटा सदस्यलाई रोजगारी दिएको भए हाम्रा लागि ठूलो राहत हुन्थ्यो । पीडा भुलाउने बाटो बन्थ्यो ।”

चार वर्षको उमेरमा बुबा गुमाएका दार्चुलाका दिपेशराज विष्टको लालनपालन कान्छी आमा जयन्ती विष्टले गरिन् । जागिरको सिलसिलामा दिपेशकी आमाले बाहिर हुँदा कहिल्यै उनलाई बुबाआमाको अभाव महसुस हुन नदिएकी जयन्तीले विगतबारे बोल्नै सकिनन् ।

“म कान्छी आमा भए पनि आमाको अभाव हुन नदिएर हुर्काएको दिपेश कहिल्यै नफर्कने भयो”, जयन्ती भन्छिन्, “इजरायलमा ज्यान गुमाएका १० जनाको सम्झनामा सुदूरपश्चिम विश्वविद्यालयले उद्यान निर्माण गरोस् । त्यहाँ उनीहरूको सालिक बन्ने अपेक्षा छ ।”

त्यस्तै, इजरायलमै ज्यान गुमाएका डोटीका राजन फुलाराका काका टीका १० विद्यार्थीको सम्झनामा क्याम्पसले उद्यान निर्माण गरेर सालिक निर्माण गर्नुपर्ने बत्ताउँछन् । “परिवारका सदस्यको शिक्षा र रोजगारीको ग्यारेन्टी गरे राहत मिल्थ्यो ।” हमासको कब्जामा रहेका विपिन जोशीको सकुसल उद्धार गर्न उनले सरकारसँग माग गरे ।

फुलाराले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा राजनको नाममा अक्षयकोष निर्माण गर्ने बताए । राजनको स्मृतिमा रु एक लाख ५१ हजार एक सय ५१ को अक्षयकोष निर्माण गर्ने उनको योजना छ । राजनले अध्ययन गरेका अन्य दुई विद्यालयमा पनि राजन फुलारा स्मृति अक्षयकोष निर्माण गरिने फुलारा बत्ताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेश घर भएका सात विद्यार्थीका परिवारलाई प्रतिपरिवार रु दुई लाख सहयोग गरेको छ । त्यसैगरी नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मञ्च तथा महिला सशक्तीकरण अभियानले पनि मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रवासी नेपाली मञ्चका केन्द्रीय सचिवालय सदस्य डा. विमला भण्डारीको पहलमा प्रतिपरिवार रु एक लाख ४० हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । सोही घटनामा घाइते भएका चार जनालाई रु ४० हजारका दरले उपचार खर्च सहयोग गरिएको उनले बताइन् ।

त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका उपप्राध्यापक सन्तोष उपाध्यायले क्याम्पसले दश विद्यार्थीको स्मृतिमा उद्यान निर्माण गर्ने निर्णय गरिसकेको बताएका छन् । “क्याम्पसले उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ”, उनले भने । ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दश विद्यार्थीको हमासको आक्रमणमा परेर गत असोज २० गते ज्यान गएको थियो ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?