Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पक्की पुल निर्माण नहुँदा आवतजावतमा सास्ती


२४ ,मङ्सिर ,बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ ।

निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताए ।

“बर्खामा खोला निकै आउँछ । बिरामी तथा विद्यार्थीलाई ओहोरदोहार गर्नै समस्या हुन्छ”, उनले भने, “पुल नहुँदा ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्छ ।”

ठेकेदार कम्पनीको लापर्वाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको अर्का स्थानीय दिलबहादुर खत्रीले बताए । “सुविधासम्पन्न बाटो तथा पुल नहुँदा कोही बिरामी परे पनि लैजान गाह्रो हुन्छ । एम्बुलेन्स आउन मान्दैन”, उनले भने, “समयमै अस्पताल पु¥याउन नसक्दा कतिपयले बाटोमै ज्यान पनि गुमाएका छन् ।” ओदाल खोलामा पुल नहुँदा स्थानीय अहिले खोलाकै धुलाम्य कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत सो क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् ।

“पुल निर्माण हुने भनेको यत्रो समय बितिसक्दा पनि अहिलेसम्म बनेको छैन”, स्थानीय गणेश रावतले भने, “हामी पीडामा छौँ । अब त पुल निर्माण हुन्छ भन्ने आशा पनि मरिसक्यो ।”

विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो । सुरुआतमा विसं २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नुपर्ने अवधि थियो । तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पूल तयार हुन सकेको छैन । पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत ३० गते काम सक्नुपर्ने भए पनि अझै निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिनुभयो ।

“पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ”, उनले भने, “निर्माणमा लापर्वाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।” उहाँका अनुसार पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का छोड्न परिपत्र गर्ने तयारीसमेत भइरहेको छ । पुलको निर्माण गर्नुपर्ने दुई वटा स्पानमध्ये एउटा मात्रै निर्माण सम्पन्न भएको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?