Trending
>>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

पर्यटकको रोजाइमा महाकाली पुल


बेदकोट,कञ्चनपुर। कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

उक्त पक्की पुलमा फोटो तथा भिडिओ कैद गर्नेको पछिल्लो समय भीडभाड लाग्ने गरेको दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष विक्रम चन्दले जानकारी दिए । “पक्की पुलले यहाँ पर्यटकको आवागमनलाई बढाएको छ भने पछिल्लो समय पुल अवलोकनका साथै तस्वीर र भिडिओ खिच्नेको भीडभाड लाग्छ”, उनले भने, “पुल हेर्न भारतबाट पनि पर्यटक आउने गर्छन् ।”

“यहाँ पुग्दा सामुद्रिक तटमा पुगेजस्तो महसुस भयो । सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्वीर कैद गर्न सकिन्छ”, पक्की पुल अवलोकन गर्न पुग्नुभएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का लक्ष्मीकान्त भट्टले भने, “पर्यटनको प्रचुर सम्भावना बोकेको यसको व्यापक प्रचार–प्रसार हुनु जरुरी छ ।”

त्यसैगरी, कैलाली, कञ्चनपुरका साथै सीमावर्ती भारतीय सहरका बासिन्दा पुल अवलोकनका लागि पुग्ने गरेका छन् भने पक्की पुल अवलोकनका लागि पुग्ने पर्यटकको रोजाइमा दोधारा चाँदनी झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत पनि पर्ने गरेका छन् । पक्की पुल निर्माणले दोधारा चाँदनी क्षेत्रमा आवातजावत बढेसँगै यहाँको व्यापार–व्यवसाय पनि फस्टाउँदै गएको छ ।

“यहाँ बाटो नहुँदा निकै समस्या थियो । गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती गर्थे”, दोधारा चाँदनी–१ का होटल व्यवसायी नबहादुर बमले भन्नुभयो, “पक्की पुलले मानिसको भीडभाड पनि बढेको छ । व्यापार पनि राम्रो छ ।” विसं २०७४ देखि निर्माण सुरु भएको पुल आयोजनाअन्तर्गत चार लेनको पक्की पुल निर्माण भइसकेको छ ।

त्यस्तै, गड्डाचौकीबाट दोधारा चाँदनीको मलेरिया नालासम्म आठ किलोमिटर पहुँचमार्ग र पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्धको काम अन्तिम चरणमा पुगेको छ भने महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको छ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?