Trending
>>   कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री ओली >>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >>   पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल >>   राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल >>   एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली >>   गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री >>   फेरि एक पटक रुपान्तरण जरुरीः सचिव भट्टराई >>   राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छः प्रधानमन्त्री ओली
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

शिक्षा विधेयकमाथि प्रदेशस्तरमा सुझाव मागिने


१८ ,मङ्सिर ,काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरोकारवाला पक्षसँग प्रदेशगतरुपमै सुझाव मागिने बताएका छन् ।

गत भदौ २७ गते संसद्मा दर्ता भएको सो विधेयकमाथि प्राप्त एक सय ५० भन्दा बढी संशोधन प्रस्ताव सभामुखको सचिवालयबाट समितिमा आएको र त्यसमाथि नियमित विधिवत छलफलको तयारी भएको जनाउँदै सभापति जोशीले लामो समयको प्रतीक्षापछि विधेयक प्रस्तुत भएकाले यसमा व्यापक परामर्श आवश्यक रहेको बताएका हुन् ।

आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा सभापति जोशीले नेपाल शिक्षक महासङ्घलगायत सरोकार भएका सबै पक्ष र विज्ञका विचार सुनेर मात्रै संशोधनलाई पारित गरिने बताए । समितिका सदस्य सुमना श्रेष्ठले शिक्षकहरुको सुविधाका लागि मात्रै नभई गुणस्तरीय शिक्षाका लागि पनि बहस हुनुपर्ने बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले लामो समयको अन्तरालमा विधेयक आएकाले यसमा गहन छलफल हुनु स्वभाविक भएको उल्लेख गर्दै विद्यालय शिक्षाको परीक्षा र मूल्याङ्कन प्रणालीबारे अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा निचोडमा पुग्न आग्रह गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव केशव दाहालले सार्वभौम संसद्मा पुगिसकेको विधेयकमा सांसद्बाट हुने संशोधन सरकारलाई स्वीकार्य हुने जनाउँदै विधेयक दर्ता भएपछि महासङ्घसँग गरिएका सहमति सदनमा प्रस्तुत भइसकेकाले त्यसलाई मनन् गरिने आशा व्यक्त गरे ।

महासङ्घका अध्यक्ष कमला तुलाधरले आफूहरुसँग भएका सहमतिको पालनासहित छिटो विधेयक पारित हुनुपर्ने माग गरिन् । महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले सहमतिमा पनि कतिपय मागहरु छुटेकाले तिनको पनि सम्बोधन हुनुपर्ने बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गाना, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिशएन (एन प्याब्सन) का अध्यक्ष सुवास न्यौपाने, उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवालले शिक्षामा निजी क्षेत्रको लगानीको सुरक्षा हुनुपर्ने जिकिर गर्दै गुणस्तरीय शिक्षामा निजी शिक्षालयको भूमिकाको अवमूल्यन नगर्न माग गरे ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मुक्तानले सामुदायिक विद्यालयमा समुदाय र अभिभावकको भूमिकालाई अग्राधिकार दिने गरी संशोधन गर्न आग्रह गर्नुभयो । शिक्षाविद् डा कृष्णप्रसाद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारीमा समान अवसरको वितरण हुन नसक्ने हो भने मानिस सुविधायुक्त स्थानमा बसाइसराइ गर्ने र मुलुकको समग्र विकासमा प्रतिकूल असर पर्ने बताए ।

उक्त विधेयकमा गत असोज २१ गते प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सकिएर सदस्यहरुलाई संशोधन दर्ताका लागि समय दिइएको थियो । संशोधनमा गत असोज ५ गते शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने प्रयास गरिएको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?