Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर


१७ ,मङ्सिर ,बारा (सिमरा) । सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको उक्त रिफ्युलिङ सेन्टरको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमानस्थलका रुपमा रहेको उक्त विमानस्थलमा हालसम्म हवाई इन्धन भर्ने व्यवस्था थिएन ।

रिफ्युलिङ सेन्टर सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (आन्तरिक तर्फ) नजिकको वैकल्पिक विमास्थलका रुपमा उक्त विमानस्थललाई प्रयोगमा ल्याउन सकिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

“काठमाडौँबाट उडान वा काठमाडौँमा अवतरण गर्ने आन्तरिक उडानका लागि सिमरा विमास्थललाई बैकल्पिक विमानस्थलका रुपमा राख्ने गरिएकामा हवाई इन्धन रिफ्युलिङ सेवाले आपतकालीन उडान तथा अवतरणमा सहजता ल्याउनेछ”, उनले भने ।

काठमाडौँमा मौसम खराब वा हवाई चाप हुँदा भैरहवा र विराटनगर मार्ग परिवर्तन गर्नुपर्ने अवस्थाको अन्त्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौँबाट सिमरासम्मको हवाई यात्राको समय करिब १५ मिनेट रहेको छ । रिफ्युलिङ सेन्टरको स्थापनापछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्दै उड्डयन उद्योग र हवाई यात्रु दुवैलाई फाइदा पुग्ने निगमको विश्वास छ ।

रिफ्युलिङ सेन्टरका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका २ वटा रिफ्युलर तथा ९ किलोलिटरको ‘डिस्पेन्सर’ को व्यवस्था गरेको छ ।

सिमरा विमानस्थलमा भण्डारण ट्याङ्क स्थापना नभएसम्म जनकपुरमा रहेको डिपोबाट हवाई इन्धन ल्याइनेछ । निगमले हाल भारतको बरौनीबाट जनकपुर डिपोमा हवाइ इन्धन ल्याउने गरको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले हवाई इन्धन रिफ्युलिङ सेवा विस्तार गर्ने नीति तथा कार्यक्रमअनुसार यो वर्ष पहिलोपटक सिमरा विमानस्थालमा सेवा सुरु गरिएको बताए । निगमले यही वर्ष भरतपुर र जुम्ला विमानस्थलमा समेत सेवा विस्तार गर्ने योजना बनाएको उनले जानकारी दिए ।

यो सेवा विस्तारबाट निगमलाई सिमराबाट काठमाडौँसम्मको ढुवानीमा लाग्दै आएको ढुवानी भाडा बचत हुने प्रवक्ता ठाकुरको भनाइ छ । सेवा विस्तारले जहाजको लोड क्षमता व्यवस्थापन गर्न तथा त्रिभुवन विमानस्थलको चाप घटाउन समेत सहयोग पुग्ने उनको विश्वास छ ।

अहिले दैनिक ९ वटा उडान तथा अवतरण हुँदै आएको सिमरा विमानस्थलबाट करिब नौ सय देखि एक हजार यात्रुले सेवा लिँदै आएका छन् ।

सो अवसरमा मन्त्री रिजालले व्यावसायिक संस्थाका रुपमा रहेको निगमले खाना पकाउने ग्यासमा जनतालाई सहुलियत दिन नोक्सानी व्यहोरेरै भए पनि सस्तो मूल्यमा उपलब्ध गराइएको बताए ।

उनले औद्योगिक तथा व्यावसयिक प्रयोजनका लागि पाँच सयदेखि एक हजार किलोग्राम क्षमताका सिलिन्डरको व्यवस्था गर्न प्रयास गरिरहेको बताए । यसबाट व्यावसायिक प्रयोजनको ग्यासमा अनुदान घटाएर नोक्सानी कम गर्न सहयोग पुग्ने उनको विश्वास छ ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?