Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञ


१७ ,मङ्सिर ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित प्रदेशस्तरीय गुरुकुल विद्यालय भवन बनाउन शनिबारदेखि महायज्ञ सुरु गरिएको छ । ‘शचीतिर्थ त्रिवेणी गुरुकुल’ नामकरण गरिएको उक्त विद्यालयको भवन हाल निर्माण थालिएकोे छ ।

पनौती नगरपालिका–६ गोरखनाथ मन्दिर नजिक निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवन बनाउन महायज्ञ आयोजना गरिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिए ।

उनका अनुसार भवन निर्माण गर्न रु एक करोड सात लाखको अनुमान गरिएको छ । महायज्ञ पनौती–७ स्थित लायकु डबलीमा शनिबारदेखि एक हप्तासम्म सो महायज्ञ सञ्चालन गरिने छ ।

महायज्ञमा युवा पण्डित भट्टराईले नै कथा वाचन गर्नुहुने कार्यक्रम छ । महायज्ञअन्तर्गत शनिबार पनौती बजारमा कलशयात्राको आयोजना गरिएको छ । महायज्ञबाट सङ्कलित सम्पूर्ण रकम भवन निर्माणका लागि नै खर्चिने जनाइएको छ ।

यस्तै भवन निर्माणका लागि देश–विदेशमा रहनुहुने नागरिकले व्यक्तिगतरूपमा सहयोग गर्न थालेका छन् । गुरुकुल शिक्षाप्रति चासो राखेका स्थानीयले पनौतीमा दुई वर्षअघि बागमती प्रदेशस्तरको गुरुकुल स्कुल संस्थागत गरेका थिए ।

हाल पनौतीस्थित त्रिवेणीघाट सत्तलमा बटुक अध्ययन गरिरहेका छन् । बटुकलाई गुरुकुलमा संस्थागत गरी प्रदेशस्तरको स्कुल स्थापना गरिएको भट्टराईले बताए । उनका अनुसार आउँदो शैक्षिकसत्रदेखि बटुक सङ्ख्यासँगै कक्षा थप्दै जाने योजना बनाइएको छ ।

गुरुकुलमा अध्ययनरत बटुकलाई कर्मकाण्ड र धर्ममात्रै नभई आधुनिक शिक्षाको ज्ञान–सीप प्रदान गरिने जनाइएको छ । यस्तै उक्त गुरुकुलबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी शिक्षालाई व्यवस्थित गर्न सोहीअनुसारको शिक्षा पहिचान गरिएको पण्डित भट्टराईले बताए । उनले भने, “पछिल्लो समय गुरुकुल शिक्षाप्रति आकर्षण बढ्न थालेकाले स्थानीयको पहलमै पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापना गरेका हौँ ।”

गुरुकुल स्कुललाई सोही शिक्षाअनुसार उत्तरमध्यमा (प्रवीणता प्रमाणपत्र तह), शास्त्री (स्नातक तह), आचार्य (स्नातकोत्तर तह) र पिएचडीसम्मको शिक्षण गरिने योजना बनाएको स्थानीय भागवत धर्म संरक्षण समितिले जनाएको छ । स्कुलको सम्पूर्ण व्यवस्थापन स्थानीयको सहयोगमा गरिएको समितिका अध्यक्षसमेत रहनुभएका भट्टराईले बताए ।

ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल पनौतीलाई सनातन वैदिक धर्म र हिन्दू संस्कारलाई जगेर्ना गरी पुण्य भूमिका रूपमा नगरलाई पहिचान दिलाउने उद्देश्यले गुरुकुल स्थापना गरिएको स्थानीय व्यवसायी प्रदीप बोगटीले बताए ।

उनले भने, “स्थानीयको सहयोगमा गरुकुल स्थापना गरेका छौँ, स्कुललाई सहयोग गर्न सरोकारवाला निकायसँग माग गरिरहेका छौँ ।” समितिका अनुसार गुरुकुल स्कुल प्रवर्द्धनार्थ स्थानीय तथा प्रदेशस्तरका जनप्रतिनिधिको साथ–सहयोग लिइने छ ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?