Trending
>>   मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता >>   हनी ट्र्याप घटनामा इन्स्पेक्टरसहित ६ जनाविरूद्ध मुद्दा >>   कांग्रेस-एमाले गठबन्धन अर्को निर्वाचनसम्म रहन्छ : प्रकाश शरण महत >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः तीन प्रदेशमा पानी पर्ने सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ११ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छ : देउवा >>   राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह >>   सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा >>   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त >>   ब्लाइण्ड टी २० विश्वकपमा नेपालको पहिलो जित
Logo
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक छ : प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताएका छन् । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई आज बाुलवाटारमा सम्बोधन गर्नुहुँदै उहाँले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याको समाधान र ऐनको समयाकूल परिमार्जन र संशोधनका लागि सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाए । उक्त विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकामा प्रधानमन्त्रीले बधाई दिए । “विश्वविद्यालय स्थापनाका लागि योगदान पुर्‍याउने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा उच्च शिक्षाको गुणस्तर कायम गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु”, प्रधानमन्त्रीले भने । त्यसैगरी विश्वविद्यालयका उपकुलपतिले प्रस्तुत गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं रजिष्ट्रारबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक–भौतिक प्रगतिका साथै विकास र विस्तारमा समेत सघाउ पुग्ने प्रधानमन्त्रीको भनाइ रहेको छ । उक्त विश्वविद्यालयले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने कूलपतिसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ रहेको छ ।

उक्त विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनका क्षेत्रमा राष्ट्रको आवश्यकता एवं अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यानकेन्द्रित गरेको जानकारी पाउँदा खुसी लागेको उनले उल्लेख गरे । त्यस्तै देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्नसक्ने तमाम चुनौती र समस्या समाधानका लागि सोच्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । “विश्वविद्यालयले आफ्ना पाठ्यक्रममा दीगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ”, प्रधानमन्त्रीले भने, “प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव हुन्छ ।” त्यस्तै, सैद्धान्तिक ज्ञान दिनेमात्र नभई विद्यार्थीलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यावहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यावसायिक र उद्यमशील बनाउने, नयाँनयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्नसक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालय केन्द्रित हुनुपर्ने प्रधानमन्त्रीको कथन छ ।

“उच्च शिक्षामा विकासको गतिलाई व्यापक बनाउँदै प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान सीपको संरक्षण र उपयोग, पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रमा यान्त्रिकरणको प्रयोगमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउनसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्दछ”, प्रधानमन्त्रीले भने । उनले अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूललगायत नेपालका मौलिक उत्पादनका बारेमा समेत सूक्ष्म शोध अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने कार्यमा यस विश्वविद्यालयले गुणात्मक योगदान दिने आफूले विश्वास लिएको प्रधानमन्त्रीको भनाइ रहेको छ । सो अवसरमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको उपस्थिति थियो ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?