Trending
>>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको तथ्याङ्क सङ्कलन


कञ्चनपुर। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखामार्फत तथ्याङ्क सङ्कलन हुन थालेको हो । त्यस्तै, स्वदेशमै उद्यमशीलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्नका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले बताएका छन् । “तथ्याङक सङ्कलनका लागि नगरपालिकाका १२ वटै वडामा परिपत्र गरिसकेका छौँ”, उनले भने, “वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले वडामा उपलब्ध गराइएको फारममा नाम, वैदेशिक रोजगारीमा गएको मुलुक, सिकेको सीप, ठेगाना र सम्पर्क नम्बर, चाहिने सीपबारे विवरण भर्नुपर्ने छ ।” उनका अनुसार विवरण सङ्कलन कार्य गरिसकिएपछि त्यसकै आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले सेवाप्रदायकमार्फत सीपमूलक तालिमका लागि छनोट गरिने छ ।

त्यसैगरी वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै व्यवस्थापकीय सीपमूलक तालिम प्रदान, परम्परागतरूपमा सञ्चालित पेसाको आधुनिकीकरण तथा बजारको माग, व्यक्तिको क्षमताअनुरुप रोजगारीको व्यवस्था गर्न सहजीकरण गरिने उनको भनाइ रहेको छ । यससँगै रोजगारीका क्रममा आर्जन गरेको पुँजी, ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा वृद्धि गर्न प्राविधिक र व्यवस्थापकीयरूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यममूलक कार्यक्रम सञ्चालनको व्यवस्था गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

त्यस्तै, गत आवमा नगरपालिकामा विदेशबाट फर्केका ९० जनाको विवरण सङ्कलन गरिएको थियो । जसमा भारत, मलेसिया, साउदी अरब, ओमान, बहराइन, कतार, दुबई, युएई, रोमानियालगायतका देशबाट फर्केका व्यक्ति रहेका थिए भने सो विवरणमा समेटिएका व्यक्तिले गार्मेन्ट, कृषि, सवारी चालक, सरसफाइ, डिजिटल मार्केटिङ, रेष्टुरेन्ट अपरेटर, डकर्मी, सिलाइकटाइ, फर्निचर मेकर, स्काफ फोल्डिङ, पेन्टिङ, प्लम्बिङ, मार्बल, फुड प्याकेजिङ, पिओपी, सेफ, पशुपालनसम्बन्धी तालिमको माग गरेका थिए । उक्त तथ्याङ्क सङ्कलन गरिएकामध्ये २० जनालाई सीपमूलक सिलाइकटाइ तालिम दिई व्यवसाय उन्मुख गराइएको प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ रहेको छ । त्यस्तै, चालु आ.व. मा पनि मागका आधारमा सीपमूलक तालिम सञ्चालन गरिने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?