Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो


कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताउनुभयो । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन् । आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरु पनि अब भने यहाँ आउन थालेका उहाँ बताउनुहुन्छ ।

ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्याका छन् । उहाँ भन्नुहुन्छ, “आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढेको पाइएको छ ।” धौलागिरि आयुर्वेदिक अस्ताल आउने बिरामीको तीन वर्षयताको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा सात हजार एक सय ५४, आव २०७७/७८ मा १२ हजार पाँच सय ८३ तथा आव २०७८/७९ मा १६ हजार दुई सय ४७ जनाले यहाँबाट सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म सात हजार चार सय ३० बिरामीले सेवा लिएको ढुङ्गानाले जानकारी दिनुभयो । सबैभन्दा बढी साउनमा एक हजार तीन सय २० बिरामीले सेवा लिएका छन् । भदौमा एक हजार ३६ जना, असोजमा नौ सय ६१, कार्तिकमा आठ सय ५१, मङ्सिरमा आठ सय ८३, पुसमा एक हजार १०, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएका छन् । औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन् । अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउने गरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डा सरोजकुमार रायले जानकारी दिनुभयो ।

आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायत विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय दैनिक ३०/३५ बिरामी औषधालयमा आउने गरेको डा रायको भनाइ छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अरु औषधिको तुलनामा आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ, चेतनाको वृद्धिका कारण आयुर्वेद्ध औषधि प्रयोग गर्ने बढेका छन्, सरकारले पनि यसलाई प्राथमिकता दिएको छ ।” जिल्लाको बडिगाड, ताराखोला र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा उपलब्ध गराइँदै आएको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?