Trending
>>   मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारबाही >>   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध चाहनुहुन्छ ? अपनाउनुहोस यी प्रभावकारी उपाएहरु >>   काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन >>   एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः एमाले महासचिव पोखरेल >>   राजनीतिक दलहरु कहिल्यै स्वतन्त्र हुन सक्दैनः महामन्त्री शर्मा >>   जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा >>   सरकारले मैले गरेका राम्रा कामविरुद्ध तीर सोझ्याएको छः पुष्पकमल दाहाल >>   राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै


२४,असोज ,काठमाडौँ । इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ ।

नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुहुने उहाँका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए ।

यसैगरी परराष्ट्र मन्त्रालयले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको उद्धार र स्वदेश फिर्ताका सम्बन्धमा हालसम्म भएका पहलकदमी तथा प्रगतिबारे जानकारी गराएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहने नेपालीका लागि नेपाल एयरलाइन्सको दुई सय ५० सिट क्षमताको वाइडबडी विमान आज राति इजरायलको तेल अविवतर्फ प्रस्थान गर्ने जानकारी दिए ।

उनले भने, “इजरायलबाट नियमित व्यावसायिक उडान सञ्चालन भइरहेकाले नेपाल फर्कन इच्छुकलाई इजरायलस्थित नेपाली राजदूतावासले सहजीकरण गर्नेछ ।”

नेपाली राजदूतावासले सुरक्षित स्थानमा सर्न तथा नेपाल फर्कन चाहनेको विवरण अनलाइन रजिष्ट्रेसन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ । हालसम्म तीन सय ५० भन्दा बढी नेपालीले विवरण उपलब्ध गराएका छन् । विवरण दिएकामध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएका प्रवक्ता लम्सालले जानकारी दिए ।

इजरायलमा हाल दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरु इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन । यसमध्ये कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी त्यहाँ गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।

हमासको आक्रमणबाट १० विद्यार्थीले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन् । उनीहरुको हाल उपचार भइरहेको छ । घाइतेको उपचारको प्रबन्ध गर्न इजरायल सरकारसँग अनुरोध भएबमोजिम उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

“अज्ञात अवस्थामा रहेका विपिन जोशीको इजरायल सरकारसँगको समन्वयमा उच्च प्राथमिकताका साथ खोजी भइरहेको छ”, प्रवक्ता लम्सालले भने । इजरायलमा करिब चार हजार पाँच सय नेपाली विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको तथ्याङ्क छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?