Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

कवाडी सामान निकासीमा कर, विरोधमा व्यवसायी


२२ ,असोज ,भरतपुर । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् ।

देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ । व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए ।

सङ्घका अध्यक्ष शङ्करबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधानविपरीत कर उठाउन लागेको जनाउँदै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताए । उनले भने, “कर उठानका लागि महानगरपालिकाले बोलपत्र आह्वानको सूचना निकालेको छ, त्यस प्रक्रियामा हाम्रो असहमति रहेको छ ।”

उनले महानगरपालिको बोलपत्रको प्रक्रिया रोकेर स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न अनुरोध गरे । उनले आफूहरु सिधै महानगरपालिकालाई कर तिर्न तयार रहेको जानकारी दिए ।

अध्यक्ष खत्रीले व्यवसायीसँग महानगरपालिकाले समन्वय नगरेको र छलफलसमेत गर्न नमानेको गुनासो गरे । व्यवसायीले गत बिहीबार उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए ।

तर उपप्रमुख अधिकारीले व्यवसायीका कुरा नसुनेको सचिव पुरन मल्ल ठकुरीले बताए । उनले यही अवस्थामा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको बताए ।

उनले कवाडीजन्य वस्तु निकासी गर्दा ठाउँठाउँमा कर लिने गरिएका कारण हैरानी व्यहोर्नुपरेको गुनासो गरे । संविधानले कुनै पनि वस्तुको स्वरुप परिवर्तन नभएसम्म एउटै खालको कर दोहोराएर लिन नपाइने व्यवस्था रहेको सङ्घले जनाएको छ ।

भरतपुर महानगरपालिकामा करिब ७५ व्यवसायीले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुको व्यवसाय गर्दै आएका छन् । महानगरभित्र करिब एक हजार पाँच सय जना यो व्यवसायमा प्रत्यक्ष जोडिएका छन् ।

घर–घर पुगेर साइकलमा कवाडी सामान सङ्कलन गर्नेको सङ्ख्या चितवन जिल्लाभरमा करिब चार हजार पाँच सय छ । उनीहरूले सङ्कलन गरेका फलाम, तामा, पित्तल, बोतल, सिसा, प्लास्टिक, कागज, पुराना जुत्ता, चप्पललगायतका सामान पुनःउपयोगका लागि उद्योगमा पठाइन्छ । धेरैजसो समान भारत पठाइने गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार महानगरपालिकाको क्षेत्राधिकारभित्र उत्पादन हुने कवाडीजन्य वस्तुमा कर लगाउन खोजिएको हो ।

कवाडी सामानमा प्रतिगोटा तथा प्रतिकेजी निश्चित कर लगाउने गरी ठेक्का आह्वान गरिएपछि व्यवसायीले विरोध गरेका हुन् । भरतपुर महानगरपालिका गत भदौ २४ गते कर सङ्कलनका लागि दुई वर्षको ठेक्का आह्वान गरेको छ ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?