Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

इजराइलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा संसदलाई जानकारी


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराएका छन् । नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराएका हुन् । “नेपाली राजदूतावास, इजराइल सरकारको स्रोत एवम् अन्तर्राष्ट्रिय समाचार माध्यामबाटप्राप्त जानकारीअनुसार शनिबार बिहान प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको र हालसम्म यो आक्रमणबाट सयौंको सङ्ख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसलाई हमास समूहले अपहरण र बन्धक बनाएको बुझिन आएको छ”, परराष्ट्रमन्त्री साउदले भने ।

उनका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुसल रहेको तथा तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनको भनाइ छ । इजराइलमा हाल करिब चार हजार पाँच सय नेपाली ‘केयर गिभर’को रुपमा कार्यरत रहेका छन् भने दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तिनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते भएर उपचाररत र बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले जानकारी दिए ।

इजराइलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको पनि उनले संसद्मा बताए । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएर परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय रहनेगरी समन्वय समिति गठन गरेका छन् । उक्त समितिले घटनाको वस्तुस्थिति बुझ्ने र घटनाको समग्र मूल्याङ्कन गरेर इजराइलमा रहेका नेपालीहरुको अवस्था पहिचान गर्ने र उद्धार गर्नुपर्ने अवस्थाका लागि समेत कार्यादेश पाएको पनि मन्त्री साउदले बताए । दक्षिणी इजराइलमा भएको आक्रमणको जानकारी आएलगत्तै परराष्ट्र मन्त्रालयले इजराइलस्थित नेपाली राजदूतावासलाई आवश्यक उद्धार, सहजीकरण र समन्वय र त्यहाँ रहेका नेपालीका वस्तुस्थितिबारे यकिन जानकारी लिन निर्देशन दिएको पनि उनको भनाइ छ । जल, हवाई र स्थलमार्गबाट हमास लडाकु इजराइलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण गरेको र त्यहाँका नागरिक बन्धक बनाउने गतिविधि भएको बुझिएको पनि मन्त्री साउदले संसद्मा बताए ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?