Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

इजराइलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा संसदलाई जानकारी


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराएका छन् । नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराएका हुन् । “नेपाली राजदूतावास, इजराइल सरकारको स्रोत एवम् अन्तर्राष्ट्रिय समाचार माध्यामबाटप्राप्त जानकारीअनुसार शनिबार बिहान प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको र हालसम्म यो आक्रमणबाट सयौंको सङ्ख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसलाई हमास समूहले अपहरण र बन्धक बनाएको बुझिन आएको छ”, परराष्ट्रमन्त्री साउदले भने ।

उनका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुसल रहेको तथा तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनको भनाइ छ । इजराइलमा हाल करिब चार हजार पाँच सय नेपाली ‘केयर गिभर’को रुपमा कार्यरत रहेका छन् भने दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तिनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते भएर उपचाररत र बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले जानकारी दिए ।

इजराइलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको पनि उनले संसद्मा बताए । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएर परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय रहनेगरी समन्वय समिति गठन गरेका छन् । उक्त समितिले घटनाको वस्तुस्थिति बुझ्ने र घटनाको समग्र मूल्याङ्कन गरेर इजराइलमा रहेका नेपालीहरुको अवस्था पहिचान गर्ने र उद्धार गर्नुपर्ने अवस्थाका लागि समेत कार्यादेश पाएको पनि मन्त्री साउदले बताए । दक्षिणी इजराइलमा भएको आक्रमणको जानकारी आएलगत्तै परराष्ट्र मन्त्रालयले इजराइलस्थित नेपाली राजदूतावासलाई आवश्यक उद्धार, सहजीकरण र समन्वय र त्यहाँ रहेका नेपालीका वस्तुस्थितिबारे यकिन जानकारी लिन निर्देशन दिएको पनि उनको भनाइ छ । जल, हवाई र स्थलमार्गबाट हमास लडाकु इजराइलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण गरेको र त्यहाँका नागरिक बन्धक बनाउने गतिविधि भएको बुझिएको पनि मन्त्री साउदले संसद्मा बताए ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?