Trending
>>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल >>   सन् २०३० सम्म ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने इजिप्टको लक्ष्य >>   चार एसपी एसएसपीमा बढुवा >>   मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारबाही >>   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने


२१ ,असोज ,दमौली (तनहुँ) । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो ।

दमौलीबाट सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खण्ड ‘आक्सफाल्ट प्रविधि’बाट सडक कालोपत्र गरिनेछ ।

पूर्वाधार विकास कार्यालयले मैनाचुली÷सफल जेभी काठमाडौँसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करसहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौताअनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण गरिनेछ ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार उक्त खण्डको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

सो अवसरमा मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार विकास निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले हालसम्मको कामका बारेमा जानकारी लिएको थियो ।

सो मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिंमार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्ने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर यस वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन । घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिएको छैन ।

उक्त पुल निर्माणका लागि विसं २०७५ माघमा सम्झौता भएको थियो । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिने जनाइएको छ ।

दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुई पाङ्ग्रे सवारीसाधन आवतजावत गरे पनि अन्य ठूला सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?