Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित


झापा कचनवलक गाउँपालिका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन् । नेपालगञ्जबाट हलेदो जातको बेसारको बीउ ल्याएर गत वर्षदेखि व्यावसायिक खेती सुरु गरिएको ३२ वर्षीय युवा कृषक प्रदीप थापाले बताउनुभयो । कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती थालेको उहाँको बताउनुभयो । पहिलो वर्ष ६० हजार केजी बेसार उत्पादन भएको उहाँले बताउनुभयो । “पहिलो वर्ष राम्रो उत्पादन भयो”, उहाँले भन्नुभयो, “यसपटक ४० देखि ५० हजार केजीसम्म उत्पादन हुने अनुमान छ ।” सुरुमा बजार अभाव हुँदा निकै समस्या भएको उहाँले तीतो अनुभव सुनाउनुभयो ।

“बेच्न धेरै गाह्रो भयो, किन्छौँ भनेर आश्वासन दिएकाहरूले नलगेपछि कतिपय बेसार बिग्रियो”, उहाँले भन्नुभयो, “थोरबहुत सहकारीले बीउको लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौँ ।” स्थानीय सामग्रीको प्रयोग गरेर ड्रमबाट बेसार प्रशोधन गर्ने उपकरण बनाएर बेसार प्रशोधन गरेको उहाँले बताउनुभयो । काँचो बेसार नबिकेपछि साथी कृषि फार्म तथा प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ब्राण्डको ‘साथी बेसार’ बिक्री गर्न थालिएको छ भने बेसारको बीउसमेत बिक्री गर्ने गरिएको छ । बेसारको धुलो बनाएर करिब तीन हजार केजी बिक्री गरेको अर्का कृषक गोविन्द राजवंशीले बताउनुभयो । बेसार खेतीबाट पहिलो उत्पादन गर्न रु १२ लाख खर्च भएको उहाँले बताउनुभयो । खेतीमा अग्र्यानिक उत्पादनलाई जोड दिँदै गाईको गोबर मल र कुखुराको सुली मल प्रयोग गर्ने गरिएको छ । धुलो बेसार प्रतिकेजी रु तीन सयमा बिक्री गर्ने गरिएको छ । स्थानीय बजार, भद्रपुर र बिर्तामोडमा आफूहरूले उत्पादन गरेको बेसारको माग धेरै रहेको उहाँले बताउनुभयो । “हामीले उत्पादन गरेको बेसार एकपटक प्रयोग गर्ने उपभोक्ताले अर्कोपटक हामीकहाँ नै आउनुहुन्छ, राम्रो प्रतिक्रिया पाइरहेका छौँ”, उहाँले भन्नुभयो, “थोरै हाल्दा पनि तरकारीमा बेसार लाग्छ, अग्र्यानिक भएकाले स्वास्थ्यकर पनि छ ।” व्यापारी र ग्राहकले प्रशोधन केन्द्रबाटै बेसार किनेर लाने गरेका छन् । भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ । भारतबाट व्यापारीले ल्याउने बेसार रु दुई सयदेखि रु दुई सय ५० मै बिक्री हुने भएकाले केही समस्या हुने गरेको छ ।

बेसार खेतीसँगै अन्य मसलाजन्य कृषि वस्तुको उत्पादन थाल्ने युवा कृषकहरूको योजना छ । आगामी वर्षदेखि धनियाँ खेती सुरु गर्ने सोच रहेको उनीहरू बताउँछन् । यता कृषि ज्ञान केन्द्र झापाले साथी कृषि फार्म तथा प्रशोधन केन्द्रलाई रु सात लाखसमेत अनुदान दिने भएको छ । बेसार प्रशोधनका लागि उक्त फार्म परेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “बेसार खेतीमा प्रोत्साहन गर्न अनुदान प्रदान गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यसले कृषकलाई प्रोत्साहन हुनुका साथै क्षेत्रफल बढ्ने विश्वास छ ।” झापामा व्यावसायिक बेसार खेती खासै नभएको उहाँको भनाइ छ । “छिटपुटरूपमा कृषिकले खेती गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “भारतबाट ठूलो परिमाणमा बेसार आयात हुने गरेको छ ।”


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?