Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आमा छोरीको हत्या आरोपमा पूर्व प्रेमी पक्राउ


५ असोज, दाङ । भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत अवस्थामा भेटिएका थिए ।
शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको खुलेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले रेवती र उनको छोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी नविन कार्कीले बताए ।

प्रहरीका अनुसार हत्याको आरोपमा पक्राउ परेका कर्णबहादुर रेवतीका पूर्व प्रेमी हुन् । फेसबुकबाट जोडिएका उनीहरुबीच प्रेम सम्बन्ध बनेको थियो । उनीहरुबीच चिनापरिचय हुँदा कर्ण बिबहित थिए भने रेवती अबिबहित ।
दुवैबीचको भेटघाटमा हुँदै गयो । त्यसक्रममा उनीहरुले अश्लील फोटो र भिडियोहरु खिचेर राखेका पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

त्यहीबीच ०७५ मा कर्ण रोजगारीका लागि दुबई गए । त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका २ झालेढुंगाका सुकलाल थापासँग बिबाह गरिन् । रेवतीको बिबाहलाई कर्णले ठुलो धोका ठानेर इगोको रुपमा लिए ।

तर पनि उनीहरुबीचको सम्पर्क टुटेन । ‘रेवतीको बिहेको २ वर्षपछि पनि दुवैबीच फोन र फेसबुकबाट कुराकानी हुन पुगेछ,’ डीएसपी कार्की भन्छन्, ‘२ वर्षपछि एक अर्काको सम्पर्कमा आएका दुवैबीच पुरानो प्रेम र शारीरिक सम्बन्धका क्रममा खिचेका अश्लील तस्वीर र भिडियोलाई लिएर मनमुटाव सुरु भएको देखिन्छ ।’
दुवैबीच मनमुटाब बढ्दै जाँदा ८ महिना अघिबाट नै कर्णले रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको डीएसपी कार्कीले बताए ।

रेवतीको हत्या गर्नकै लागि नेपाल आउन उनले ४ महिनाअघि नै कर्णले दुबईमा कम्पनीमा बिदा समेत मागेका थिए । तर कम्पनीले बिदा नपाएपछि उनी रोकिएको दाबी कार्कीले गरे ।

गत भदौ २७ गतेमात्र बिदा पाएका उनी दुबईबाट घर आइपुगे । घर आएको दुईदिनभित्रै उनले रेवतीलाई मार्ने योजना बनाए । त्यसपछि उनी भदौ २९ गते राति रेवतीको घर पुगेका थिए । कर्ण र रेवतीको घर झण्डै २० किलोमिटर टाढा पर्छ ।

रेवतीका श्रीमान् रोजगारीका लागि भारतमा गएकाले एक्लै भएको मौका छोपी उनी त्यहाँ गएका थिए ।
डीएसपी कार्कीका अनुसार राति करिब १० बजे कर्ण रेवतीको घरभित्र पसेर उनको घाँटी कपडाले कसेर लडाए । त्यसपछि पेट्रोल छर्केर आगो लगाएको अभियुक्त कर्णले बयान दिएको उनले बताए । रेवतीलाई लगाएको आगो सल्किएर ओछ्यानमा सुतिरहेकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार रेवतीको हत्यापछि कर्ण राति नजिकैको एउटा घरमा बास बसी बिहानै घरतर्फ लागेका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा विभिन्न चरणमा अनुसन्धान गर्दा कर्णले नै हत्या गरेको भन्ने निष्कर्षमा पुगेको उनलाई पक्राउ गरेको कार्कीले बताए ।

‘घटनाको अनुन्धान गर्दै जाँदा सात वर्षअघिको प्रेमको इगो साध्न पूर्व प्रेमिका र उनकी छोरीको हत्या गरिएको देखियो’, कार्कीले भने ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?